प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति सांसदहरूको आक्रोश
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा ‘नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने’ आशय व्यक्त गरेपछि विभिन्न राजनीतिक दलका सांसदहरूले संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यसप्रति तीव्र आपत्ति जनाएका छन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई अत्यन्तै दुःखद र खेदजनक भन्दै निन्दा गरे। संसारभरमै आफ्नो देशले अर्काको सिमाना मिचेको छ भनी अभिव्यक्ति दिने पहिलो राष्ट्रप्रमुख सायद बालेन नै देखिएको टिप्पणी गर्दै उनले नेपालले वास्तवमै भूमि मिचेको हो कि होइन भन्ने कुराको आधिकारिक स्पष्टीकरण सरकारसँग माग गरिने बताए।
सांसद राईले प्रधानमन्त्रीको यो अदूरदर्शी भनाइले मिचिएका नेपाली भूमिहरूमाथि नेपालले गर्दै आएको ऐतिहासिक दाबीलाई अन्तर्राष्ट्रिय स्तरमै कमजोर बनाउने एउटा गलत नजिर स्थापना गरिदिएको जिकिर गरे। हिजोका सरकारहरूमा जतिसुकै कमजोरी भए पनि उनीहरूले कहिल्यै आफ्नै देशले सीमा मिचेको गैरजिम्मेवार गफ नगरेको उनको भनाइ थियो।
त्यसै गरी, नेपाली कांग्रेसका वरिष्ठ सांसद अर्जुननरसिंह केसीले पर्याप्त अध्ययन र अकाट्य तथ्यबिना नेपालले भारतको भूमि मिचेको निष्कर्षमा पुग्न कदै नसकिने प्रष्ट पारे। नेपाल र भारतबीच खुला र लामो सीमा रहेका कारण कतिपय स्थानमा सीमांकन तथा व्यवस्थापनका प्राविधिक विषयहरू हुनसक्ने भए पनि त्यसलाई अतिक्रमण भन्न नमिल्ने उनको तर्क छ।
धेरै ठाउँमा जोडिएको भू–भाग भएकाले दुवै पक्ष बसेर गम्भीरतापूर्वक छलफल गरी सीमाहरू व्यवस्थित गर्ने वा यताउता मिलाउनुपर्ने व्यावहारिक पाटा हुन सक्ने औंल्याउँदै उहाँले प्रधानमन्त्रीले कुन सन्दर्भ र आशयमा यो कुरा बोल्नुभएको हो, त्यो बुझ्नुपर्ने बताए।
यसैबीच, नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको यस अभिव्यक्तिले आम नेपालीको राष्ट्रिय स्वाभिमानमा गम्भीर चोट पुर्याएको र देशकै शिर झुकाउने काम गरेको आरोप लगाउए0। नेपाल–भारत सीमा र विशेष गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको ऐतिहासिक भूमि भएको स्पष्ट पार्दै उनले आफ्नो भूमिमाथिको अधिकार स्थापित गर्नु सरकारको पहिलो दायित्व हुनुपर्नेमा जोड दिए।
नेपाली जनताले आफ्नो भूमिको रक्षाका लागि निरन्तर आवाज उठाइरहेका बेला देशको प्रधानमन्त्रीले नै ‘म पदमा आएपछि मात्र नेपालले भारतको भूमि मिचेको थाहा पाएँ’ भन्नु लज्जास्पद भएको र यसले सिङ्गो देशलाई स्तब्ध बनाएको सांसद बरालले उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment