सार्वभौमसत्ताको विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्रीलाई महामन्त्री पौडेलको आग्रह

डिसी नेपाल
१७ जेठ २०८३ १९:३४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले देशको सार्वभौम संसद्‌मा बोल्दा विषयको गम्भीरतालाई ध्यान दिनुपर्ने उल्लेख गरेका हुन्।

‘नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकले कुनै पनि स्थानमा आफ्ना विचारहरू राख्दा अत्यन्त गहनताका साथ राख्नुपर्दछ,’ महामन्त्री पौडेलले भने, ‘सदनमा उपस्थित भएर प्रधानमन्त्रीले जनताका प्रतिनिधिको जवाफ दिनु निकै राम्रो अभ्यास हो। तर देशको भौगोलिक अखण्डता जस्तो गम्भीर विषय कत्तिको संवेदनशील हो भन्ने आँकलन नै नगरी, विनातयारी साधारण नागरिककै शैलीमा जवाफ दिँदा मुलुक नै अप्ठेरोमा पर्ने अवस्था सृजना हुन सक्छ।’

संसद्‌मा प्रधानमन्त्रीको प्रस्तुतिप्रति असन्तुष्टि जनाउँदै महामन्त्री पौडेलले आइतबारको त्रुटिबाट गम्भीर पाठ लिन प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्।

उनले आगामी दिनमा आफ्ना विचारहरू राख्दा विषयको संवेदनशीलतालाई बुझ्न र मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं अन्तर्राष्ट्रिय गरिमा उँचो बनाउने गरी मात्र प्रस्तुत हुन सम्माननीय प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।




प्रतिक्रिया

One thought on “सार्वभौमसत्ताको विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्रीलाई महामन्त्री पौडेलको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *