नेपाली कांग्रेसमा समाहित भयो राष्ट्रिय सद्भावना पार्टी, समायोजनका लागि केसी र झा सम्मिलित कार्यदल गठन
काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ। लोकतान्त्रिक संघीय समावेशी गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा संसद्का फरक-फरक शक्ति अलग रहँदा विगतका उपलब्धि गुम्ने खतरा औँल्याउँदै उक्त पार्टी कांग्रेसमा बिलय भएको हो।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आजै (२०८३ जेठ १७ गते) देखि लागू हुने गरी राष्ट्रिय सद्भावना पार्टी आफ्नो सिङ्गो पार्टी संरचना, सदस्यता तथा सम्पूर्ण सांगठनिक निकायसहित कांग्रेसमा समाहित भएको हो।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि कांग्रेसको आदर्श, सिद्धान्त र विधानप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पार्टी समायोजनको निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। देश र मधेशका शोषित, पीडित, उपेक्षित मधेशी समुदाय, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिला र अल्पसंख्यक लगायतको अधिकारका लागि संघर्षरत राष्ट्रिय सद्भावना पार्टीले ती समुदायको व्यापक हितका लागि यो कदम चालेको जनाएको छ।
विगतका राजनीतिक उपलब्धिलाई रक्षा गर्ने दायित्व नेपाली कांग्रेसले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेपछि दुई पार्टीबीच एकता सम्भव भएको हो।
पार्टी समाहित भएसँगै सांगठनिक संरचनामा उपयुक्त समायोजन र अन्य आवश्यक व्यवस्थाहरूका लागि दुवै तर्फबाट नेताहरू सम्मिलित एक कार्यदल गठन गरिएको छ।
जसमा नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र राष्ट्रिय सद्भावना पार्टीका तर्फबाट अनिलकुमार झा रहेका छन्। कार्यदलले दिने अन्तिम रूप र सुझावका आधारमा सांगठनिक संरचनामा उपयुक्त समायोजन गरी यस निर्णयलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिने कांग्रेसले जनाएको छ।







डिसी नेपाल







Facebook Comment