प्रधानमन्त्रीको राजीनामा माग्दै तरुण दलको माइतीघरमा प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। नेपालले पनि भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै तरुण दलले उनको राजीनामा माग गरेको हो।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका तरुण दलका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ?’, ‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है’, ‘वीर पुर्खाको अपमान सहँदैन नेपाल’ र ‘देशको सीमा र स्वाभिमान हाम्रो प्राण’ जस्ता नारा लिखित प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
तरुण दलले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्धमा रहेको जनाएको छ।
प्रदर्शनलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष मनिष कोइरालाले राष्ट्रको कार्यकारी प्रमुखले सीमाका बारेमा गैरजिम्मेवार ढंगले बोलेको आरोप लगाए। उनले प्रधानमन्त्री शाहले तत्काल संसद्मार्फत नेपाली जनतासँग माफी माग्दै राजीनामा दिनुपर्ने माग गरे। साथै, यस विषयमा प्रधानमन्त्री र संसद्मा उनलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत आफ्नो धारणा स्पष्ट पार्नुपर्ने अध्यक्ष कोइरालाको भनाइ थियो।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण यतिबेला सडकदेखि सदनसम्म प्रधानमन्त्री शाहको चौतर्फी विरोध र आलोचना भइरहेको छ।







डिसी नेपाल







Facebook Comment