सिंहदरबार अगाडि प्रदर्शन गर्ने नेविसंघका नेताहरू पक्राउ, अविलम्ब रिहा गर्न कांग्रेसको माग
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरू पक्राउ परेका छन्। सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई गिरफ्तार गरेको हो।
नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आफ्ना भ्रातृ संस्थाका नेताहरूको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक अधिकारमाथि सरकारले ठाडो उल्लंघन गरेको भन्दै यो कदमको कडा शब्दमा निन्दा गरेको छ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषय ‘सीमा समस्या’ का सम्बन्धमा हिजो प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोष्टममा उभिएर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभएको थियो। त्यसकै विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दा विद्यार्थी नेताहरूलाई गिरफ्तार गरिनु अत्यन्त निन्दनीय छ।’
कांग्रेसले गिरफ्तार गरिएका नेविसंघका सबै नेताहरूलाई अविलम्ब र बिनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। हिजो प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिको विरोधमा यतिबेला सडकदेखि सदनसम्म प्रदर्शन र दबाबका कार्यक्रमहरू भइरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment