हिमालय एयरलाइन्सले सुरु गर्दैछ काठमाडौं-शेनझेन-काठमाडौं सीधा उडान

डिसी नेपाल
१९ जेठ २०८३ १०:५३

काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ‘सिलिकन भ्याली’ का रूपमा प्रख्यात सहर शेनझेनमा ऐतिहासिक सीधा उडान सुरु गर्दै आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्ने भएको छ।

एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि नेपालको राजधानी काठमाडौँ र शेनझेनबीच साप्ताहिक रूपमा दुईवटा सीधा उडान सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेनझेनस्थित शेनझेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हुने यो उडानलाई नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका दृष्टिकोणले एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

कम्पनीले बजारको मागका आधारमा आगामी दिनमा उडान सङ्ख्या थप्ने योजनासहित हालका लागि हप्तामा दुई उडानबाट यो सेवा प्रारम्भ गर्न लागेको जनाएको छ।

तालिकाअनुसार काठमाडौँबाट शेनझेनका लागि प्रत्येक मङ्गलवार र बिहीवार राति २१:५० बजे उडान हुनेछ, जुन भोलिपल्ट बिहान ०४:३० बजे शेनझेन पुग्नेछ। त्यसैगरी, शेनझेनबाट काठमाडौँका लागि प्रत्येक बुधवार र शुक्रवार बिहान ०५:५५ बजे प्रस्थान गर्ने उडान सोही दिन बिहान ०८:३५ बजे काठमाडौँ अवतरण गर्नेछ।

यो नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्नुका साथै नेपाल र चीनबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो नयाँ ऐतिहासिक उडानप्रति उत्साह व्यक्त गर्दै एयरलाइन्सले चीनमा निरन्तर नयाँ गन्तव्यहरू पहिचान गरी नियमित उडान अघि बढाइरहेको बताए।

नयाँ बजार प्रवर्द्धनमा कम्पनीको योगदान उल्लेख्य रहेको दाबी गर्दै उनले यस रुटले दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने, पर्यटन सघाउने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्य राखेको उल्लेख गरे।

उच्च सुरक्षा मापदण्ड कायम राख्दै यात्रुहरूलाई अविस्मरणीय यात्राको अनुभव गराउन कम्पनी तत्पर रहेको उहाँको भनाइ छ। यात्रुहरूले एयरलाइन्सको टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, आधिकारिक वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत यस मार्गको टिकट बुक गर्न सक्नेछन्।

सन् २०१४ मा नेपाल र चीनको संयुक्त साझेदारी (तिब्बत नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि.) मा स्थापित हिमालय एयरलाइन्सको मुख्य उद्देश्य जनस्तरको सम्पर्क बढाउनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्‍याउनु हो।

हाल कम्पनीसँग तीनवटा एयरबस ३२० र एउटा एयरबस ३१९ गरी कुल ४ वटा विमानहरू रहेका छन्, जसले मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरू जस्तै संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा उडान सञ्चालन गर्दै आएका छन्।

आफ्नो स्थापनाको पहिलो वर्षमै दक्षिण एसियाकै अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सको अवार्ड पाएको यस कम्पनीले हवाई उडान, प्रशिक्षण, यात्रु सेवा र कार्गो सेवामा उत्कृष्ट कार्यसम्पादन गरेबापत विभिन्न प्रतिष्ठित आईएसओ (ISO) प्रमाणपत्रहरू समेत प्राप्त गरिसकेको छ।

साथै, यो नेपालको पहिलो र एक मात्र आईओएसए (IOSA) प्रमाणित र आईएटीए (IATA) सदस्य एयरलाइन्स हो। हवाई सुरक्षामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित आफ्ना विमानहरूमा ‘अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर’ (AEDs) जडान गर्ने हिमालय एयरलाइन्स नेपालकै पहिलो र एक मात्र वायुसेवा कम्पनी पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *