सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त : परिषद् सदस्य सचिवमा लोकगायक डोटेली कान्छा
धनगढी । सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारीहरू नियुक्त भएका छन्। प्रतिष्ठानको कुलपतिमा रामचन्द्र नेपाल र उपकुलपतिमा सरस्वती दाहाल नियुक्त भएका छन्।
यसैगरी, प्रतिष्ठानको अत्यन्त महत्त्वपूर्ण जिम्मेवारी मानिने परिषद् सदस्य सचिव पदमा चर्चित डेउडा गायक सुरत बहादुर रावत ‘डोटेली कान्छा’ नियुक्त भएका हुन्। प्रतिष्ठानको परिषद् सदस्यहरूमा विष्णुभक्त खैर र कृष्णा सिराडी चयन भएका छन्। उनीलाई प्रतिष्ठानको ऐन संशोधनसँगै २२ जना प्राज्ञसभा सदस्यबाट पदाधिकारीमा नियुक्त गरिएको हो।
कोहुन् नवनियुक्त परिषद् सदस्य-सचिव ‘डोटेली कान्छा’?
डोटीको केआईसिंह गाउँपालिका-१ डुम्राकोटमा जन्मिएर हाल कैलालीलाई कर्मथलो बनाउँदै आएका डोटेली कान्छा विगत तीन दशकदेखि सुदूरपश्चिमको कला, संस्कृति र पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय छन्। स्वर्गीय भक्तसिंह रावत र सिखौ रावतका सुपुत्र उनी कला क्षेत्रमा ‘डोटेली कान्छा’ उपनामले परिचित छन्।
कला र संगीतमा योगदान
वि.सं. २०५४ सालदेखि उनी निरन्तर सांगितिक क्षेत्रमा सक्रिय छन्। उनको ‘सुन्तली बोट’ पहिलो एल्वम् २०५४ सालमै प्रकाशित भएको थियो। उनका ‘प्रदेशी दुखारी’, ‘पाटन सेरो’, ‘धौली सुवा’, ‘घोडाघोडी ताल’ लगायत दर्जनभन्दा बढी चर्चित डेउडा एल्बम र एक सयभन्दा बढी गीतहरू प्रकाशित छन्। उनले सुदूरपश्चिमका ९ वटै जिल्लामा सांस्कृतिक जागरण अभियान सञ्चालन गरेर लोक संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्याएका छन्।
पत्रकारिता र साहित्य सम्पादन
कलाकारितासँगै पत्रकारितामा पनि उनको बलियो पहिचान छ। उनी ‘पश्चिमेली रैबार’ (डोटेली भाषिक पत्रिका), ‘झझल्को साहित्यिक पत्रिका’, ‘सुदूर डेली’ र ‘लोक सन्देश’ लगायत पत्रिकामा प्रकाशक तथा प्रधान सम्पादक रहिसकेका छन्। साथै विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रिकाहरूमा सम्पादक र संवाददाताका रूपमा उनले कार्यअनुभव बटुलेका छन्।
सांगठनिक नेतृत्व र सम्मान
उनी वि.सं. २०६२/६३ को जनआन्दोलनमा लोकतान्त्रिक स्रष्टा समूह अत्तरिया-चौमालाको सह-संयोजक थिए। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कैलाली जिल्ला अध्यक्ष, सेती अञ्चल अध्यक्ष, केन्द्रीय सदस्य हुँदै सुदूरपश्चिम प्रदेश संयोजकसम्म भइसकेका छन्। हाल उनी ‘डेउडा प्रतिष्ठान’को केन्द्रीय अध्यक्ष र नेपाल सांस्कृतिक महासंघको केन्द्रीय उपाध्यक्षका रूपमा समेत कार्यरत् छन्।
उनी हाम्रो संस्कृति हाम्रो पहिचान नेपालमा संस्थापक अध्यक्षसमेत हुन्। डोटेली कान्छाले सुदूरपश्चिमाञ्चल साहित्य समाजको सचिव, डोटेली समाजको संस्थापक सचिव, नवरत्न साहित्य संगमको पूर्वअध्यक्षका रुपमा समेत काम गरिसकेका छन्।
सांस्कृतिक र सामाजिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई विभिन्न संघसंस्थाबाट ५० भन्दा बढी सम्मान र १८० भन्दा बढी प्रशंसापत्र प्राप्त भइसकेको छ।
नवनियुक्त पदाधिकारी र विशेषगरी कला-साहित्यको मर्म बुझेका डोटेली कान्छा परिषद् सदस्य सचिवमा नियुक्त भएसँगै सुदूरपश्चिमको भाषा, साहित्य र कला क्षेत्रको श्रीवृद्धिमा नयाँ इँटा थपिने विश्वास लिइएको छ।







डिसी नेपाल







Facebook Comment