कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक, उजुरीहरूमाथि छानबिन हुने
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भाेलि बिहीबारका लागि आह्वान गरिएको छ। पार्टीभित्रको आन्तरिक अनुशासन र हालैका निर्वाचन तथा सांगठनिक गतिविधिमा देखिएका विवादहरूलाई सम्बोधन गर्न यो बैठक बस्न लागेको हो।
समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बैठक बस्ने आधिकारिक जानकारी दिएका हुन्।
पार्टी स्रोतका अनुसार यस बैठकमा मुख्य गरी तीन वटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताइएको छ। पहिलो, विभिन्न तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भनी केन्द्रमा प्राप्त भएका उजुरीहरूको वर्गीकरण र छानबिन गरिनेछ।
दोस्रो, पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र गुटबन्दीलाई नियन्त्रण गर्दै आन्तरिक अनुशासन कायम राख्ने रणनीति तय गरिनेछ। र तेस्रो, समितिको भावी कार्ययोजना र आचारसंहिता परिमार्जनका विषयमा विस्तृत छलफल हुनेछ।
नेपाली कांग्रेसमा पछिल्लो समय पार्टीको नीति र निर्णय विपरीत अभिव्यक्ति दिने तथा सांगठनिक मर्यादा उल्लंघन गर्ने नेता-कार्यकर्ताहरू बढ्दै गएको गुनासो उठिरहेका बेला बस्न लागेको यस अनुशासन समितिको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
बैठकले प्राप्त उजुरीहरूमाथि प्रारम्भिक अध्ययन गरी दोषी ठहरिएकाहरूलाई स्पष्टीकरण सोध्ने वा कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गर्न सक्ने सम्भावना रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment