ड्याफोडिल प्रि-स्कुलका विद्यार्थीलाई प्रयोगात्मक रूपमा स्वास्थ्य र सरसफाइ सम्बन्धी सीपमूलक ज्ञान
काठमाडौं। अन्तरक्रियात्मक र व्यावहारिक शिक्षण पद्धतिलाई जोड दिँदै ड्याफोडिल प्रि-स्कुलका साना विद्यार्थीहरूका लागि स्वास्थ्य तथा सरसफाइ सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
‘स्किल बेस्ड ट्रेनिङ सेन्टर’ को विज्ञ टोलीले ड्याफोडिल प्रि-स्कुलको भ्रमण गरी बालबालिकाहरूका लागि जीवनोपयोगी सीपहरू सिकाउने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरेको हो।

विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप र प्रयोगात्मक प्रदर्शनसहित सञ्चालित यस कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइका महत्त्वपूर्ण अभ्यासहरूका बारेमा जानकारी दिइएको थियो।
विशेष गरी सहि तरिकाले हात धुने विधि, दाँत माझ्ने उचित तरिका तथा दैनिक जीवनमा अपनाउनुपर्ने आधारभूत सुरक्षाका नियमहरूका बारेमा बालबालिकाहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। दैनिक जीवनमा नभई नहुने यस्ता बानीहरूलाई खेल र सजीव प्रस्तुतिमार्फत सिकाउँदा साना विद्यार्थीहरूले निकै उत्साहका साथ भाग लिएका थिए।

यस अर्थपूर्ण र उपयोगी सिकाइ कार्यक्रमको संयोजन तथा सञ्चालन ड्याफोडिल प्रि-स्कुलकै एक अभिभावक एवं ‘स्किल बेस्ड ट्रेनिङ सेन्टर’ की सञ्चालक सोफिया लामाले गरेकी हुन्।

विद्यार्थीहरूका लागि निकै फलदायी र दैनिक जीवनमा रूपान्तरण ल्याउने खालको यो सत्र सञ्चालन गरेर बालमनोविज्ञान सुहाउँदो शिक्षा प्रदान गरेकोमा ड्याफोडिल प्रि-स्कुल प्रशासनले सहजकर्ता लामा र उनको टोलीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रममा सहभागी ड्याफोडिल प्रि-स्कुलका साना बालबालिकाहरूले रमाइलो गर्दै स्वास्थ्य सम्बन्धी अमूल्य ज्ञान हासिल गरेका छन्, जसले उनीहरूमा हरेक दिन स्वस्थ र सुरक्षित रहने बानीको विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment