स्वास्थ्य बिमा भएका बिरामीलाई निजी अस्पतालमा अब आकस्मिक उपचार मात्र
काठमाडौं। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका मुलुकभरका निजी स्वास्थ्य संस्थाहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीहरूको मात्र बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवनकुमार साहले कुनै पनि बिरामीलाई तत्काल आकस्मिक उपचार गर्नुपर्ने विशेष अवस्था देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवाहरू प्रदान गर्न निजी अस्पतालहरूलाई सचेत गराइएको जानकारी दिएका छन्।
यसअघि बोर्डले यही जेठ १६ गते एक सूचना जारी गर्दै वित्तीय स्रोतको चरम अभावलाई मध्यनजर गरेर अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिकबाहेकका अन्य सबै प्रकारका नियमित स्वास्थ्य सेवाहरू स्थगित गरेको थियो।
वित्तीय संकट गहिरिँदै गएपछि बोर्डले बिमा कोषमा थप भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवाका नाममा स्वास्थ्य सेवा प्रदान नगर्न र यसलाई कडा रूपमा पालना गर्न आग्रहसमेत गरेको छ।
यसैगरी, बोर्डले सेवाग्राही नागरिकहरूलाई समेत स्वास्थ्य सेवा प्रदायक संस्था तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न अपिल गरेको छ।
बिरामी र तिनका आफन्तले वास्तविक आवश्यकताबाहेकका सामान्य अवस्थामा पनि आकस्मिक सेवा दाबी गर्दै उपचारका लागि स्वास्थ्यकर्मीहरूलाई बाध्य पार्ने प्रवृत्ति देखिएकाले त्यसो नगर्न बोर्डले ध्यानाकर्षण गराएको हो।
हाल देशभरिका कुल ३६ वटा निजी अस्पतालहरू स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई बिमित नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्, जहाँ अब अर्को व्यवस्था नभएसम्मका लागि केवल आकस्मिक उपचार मात्र बिमाअन्तर्गत उपलब्ध हुनेछ।







डिसी नेपाल







Facebook Comment