सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त नेपाल बारद्वारा सम्मानित

डिसी नेपाल
२० जेठ २०८३ १४:०१

काठमाडौं। नेपाल बार काउन्सिल र नेपाल बार एशोसिएशनको संयुक्त आयोजनामा हालै सम्पन्न ३४ औँ ब्याचको नवप्रवेशी अधिवक्ताहरूको प्रमाणपत्र वितरण समारोहमा कानुन व्यवसायी सुधिज्ञ पन्तलाई विशेष प्रशंसा पत्र प्रदान गरिएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कानुनी क्षेत्रकै गौरव बढाएका पन्तलाई सो अवसरमा उनको ऐतिहासिक साहसिक कदम र व्यावसायिक दक्षताको उच्च कदर गर्दै सम्मानित गरिएको हो।

सोमबार आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले अधिवक्ता सुधिज्ञ पन्तलाई सो प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।

सर्वोच्च शिखरको शिरमा कानुन व्यवसायीको प्रतिनिधित्व गराउन सफल पन्तलाई सम्मान गर्न पाउनु सम्पूर्ण कानुनी क्षेत्रकै लागि गौरवको विषय रहेको समारोहमा चर्चा गरिएको थियो।

प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रममा नेपाल बार काउन्सिलका अध्यक्ष डा. नारायणदत्त कँडेल र नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजय मिश्राको समेत विशेष उपस्थिति रहेको थियो।

उनीहरूले नयाँ कानुन व्यवसायीहरूलाई बधाई दिँदै व्यावसायिक मर्यादा र कानुनी शासनको रक्षाका लागि प्रतिबद्ध रहन आग्रह गरे। साथै, सगरमाथा आरोहणजस्तो कठीन लक्ष्य सहजै भुक्तान गरेर आएका पन्तको साहसबाट प्रेरणा लिँदै न्याय क्षेत्रका चुनौतीहरूलाई पनि दृढताका साथ सामना गर्न नयाँ पुस्तालाई आह्वान गरियो।

३४ औँ ब्याचका नयाँ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजित उक्त गरिमामय समारोहमा कानुनी क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, स्थापित कानुन व्यवसायीहरू र नवप्रवेशी अधिवक्ताहरूको ठुलो उपस्थिति रहेको थियाे।

वरिष्ठ न्यायमूर्तिको हातबाट प्रशंसा पत्र प्राप्त गरेपछि सम्मानित पन्तले आगामी दिनमा कानुनी क्षेत्रको गरिमा बढाउन र न्याय सम्पादनमा सगरमाथाकै जस्तो अटल निष्ठाका साथ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *