कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक : सांसदहरूको जेठ ८ को हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर

डिसी नेपाल
२० जेठ २०८३ १८:५७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल, सुदूरपश्चिम प्रदेशको ४८औँ बैठक दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ।
बैठकले विभिन्न समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले प्रदेश सभा सदस्यद्वय मानबहादुर रावल र दिवान सिंह विष्टसहित सदस्यहरूको मिति २०८३ जेठ ८ गतेको हस्ताक्षरसहितको निवेदन सम्बन्धमा छलफल गरेको थियो। मिति २०८३ जेठ १७ गते १२ जना माननीय सदस्यहरूको उपस्थितिमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको सन्दर्भमा जेठ ८ गतेको हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरिएको छ।

त्यसैगरी, बैठकले मुलुकको वर्तमान राजनीतिक परिवेश तथा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका र जिम्मेवारीका सन्दर्भमा विस्तृत छलफल गरेको छ। बैठकले जनता प्रति उत्तरदायी, जवाफदेही तथा लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै पार्टीभित्रको एकता आजको आवश्यकता भएकोमा एकमत व्यक्त गरेको छ।

पार्टीभित्र देखिएका विमति र फरक मतहरूलाई संवाद, छलफल र सहमतिका माध्यमबाट समाधान गर्दै अगाडि बढ्नु नै उपयुक्त मार्ग भएको निष्कर्ष बैठकले निकालेको छ। साथै, नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश पूर्ण रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै जनताको हित, प्रदेशको समृद्धि र पार्टीको गौरवका लागि सबै माननीय सांसदहरू दृढ, जिम्मेवार तथा प्रतिबद्ध रहने ठहर बैठकले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *