जातीय छुवाछूत उन्मूलन दिवस: विभेदहीन र समावेशी समाज निर्माणका लागि राष्ट्रपतिको शुभकामना

डिसी नेपाल
२१ जेठ २०८३ ६:३०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको रक्षा गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणमा लाग्न सबैलाई थप प्रतिबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। वि.सं. २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो।

संविधानको संकल्प र समतामूलक समाज

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात् गर्दै विविधताभित्रको एकतालाई सुदृढ बनाउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

संविधानले वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक र लैंगिकक लगायतका सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको उनले स्मरण गराएका छन्।

कानुनसँगै सामाजिक चेतनामा जोड

जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहारको पूर्ण अन्त्य केवल कानुनी व्यवस्थाले मात्र सम्भव नहुने राष्ट्रपति पौडेलको भनाइ छ। यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र आपसी सम्मानको भावना विकास हुन अपरिहार्य रहेको उनले बताए। यो दिवसले समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको सन्देशमा उल्लेख छ।

एकजुट हुन राष्ट्रपतिको अपिल

जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको गम्भीर अपराधका रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले सामाजिक जागरण र समभावको विकासका लागि सबै समुदायबीच आपसी सद्भाव र मेलमिलाप बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले जातीय छुवाछूत र विभेदको विरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूलाई अझ बढी संवेदनशील हुन  आह्वान समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *