दुबईका शासकका भतिजाकी पूर्वश्रीमती हिरासतमा, सन्तानको संरक्षणसम्बन्धी विवाद चर्कियो
लन्डन । दुबईका शासकका एक भतिजाकी पूर्वश्रीमतीलाई हिरासतमा लिइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। आफ्ना तीन साना छोरीहरूको संरक्षण (कस्टडी) लाई लिएर चलिरहेको कानुनी लडाइँ झन् गम्भीर बनेसँगै उनी पक्राउ परेकी हुन्।
दुबई सरकारी वकिलको कार्यालय (दुबई पब्लिक प्रोसिक्युसन) ले बीबीसीलाई दिएको जानकारी अनुसार जेनाब जाभादलीलाई उनका पूर्वपति एवं तीन सन्तानका बुबा शेख सइद बिन मक्तुम बिन रसिद अल मक्तुमले दर्ता गराएको उजुरीका आधारमा हिरासतमा लिइएको हो।
मंगलबार रातिदेखि जेनाबको परिवार तथा साथीभाइहरूसँगको सम्पर्क विच्छेद भएपछि उनीहरूले जेनाबको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै सचेत गराएका थिए। करिब दुई दिनसम्म जेनाब वा उनका छोरीहरू कहाँ गए भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन।
सुरक्षा अधिकारीहरू आफ्ना सन्तान खोस्न र आफूलाई पक्राउ गर्न पर्खिरहेका छन् भन्ने डरका कारण उनले विगत केही महिनादेखि घरबाहिर निस्कन समेत छोडेकी थिइन्।
दुबई सरकारी वकिलको कार्यालयका अनुसार, उनका पूर्वपति शेख सइदले अदालतद्वारा स्वीकृत भेटघाट सत्र (भिजिटेसन सेसन) का क्रममा जेनाबले बच्चाहरू अपहरण गरेको आरोप लगाएका छन्। गत वर्ष पनि उनले जेनाबमाथि आफ्ना छोरीहरू अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका थिए।
त्यसअघि, बच्चाहरूलाई आ–आफ्नो नियन्त्रणमा लिने क्रममा दुवै पक्षले एक–अर्कालाई अपहरणको आरोप लगाउँदै आएका थिए। पूर्वअन्तर्राष्ट्रिय जिम्न्यास्ट समेत रहेकी जेनाबले गत वर्ष आफ्नो घरमा भएको यस्तै एउटा विवादको भिडियो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) गरेकी थिइन्, जसका कारण उनले संयुक्त अरब इमिरेट्स (यूएई) मा साइबर अपराध (ई–क्राइम्स) को कसुरमा समेत पक्राउ पर्न सक्ने सम्भावनाको सामना गरिरहेकी छन्।
आफ्नो रक्षाका लागि वकालत गरिरहेका बेलायती मानवअधिकारवादी वकिल डेभिड हेगलाई पठाएको एक भिडियो सन्देशमा उनले आफ्नो कदमको प्रष्टीकरण दिँदै भनेकी थिइन्, “मलाई थाहा थाहा थियो कि आफ्ना बच्चाहरूसँग बस्ने यो मेरो अन्तिम अवसर हो, किनकि उनीहरूले मलाई फेरि कहिल्यै बच्चाहरू हेर्न दिने थिएनन्। मैले साँच्चिकै यसलाई अन्तिम मौका ठानेँ, त्यसैले लाइभस्ट्रिम खोलेर मद्दतका लागि गुहार मागेँ।”
अर्कोतर्फ, शेख सइद बिन मक्तुम बिन रसिद अल मक्तुमका वकिलहरूले अदालतको सुनुवाइका क्रममा जेनाब एक अयोग्य आमा भएको दाबी गरेका छन्। उनले छोरीहरूलाई विद्यालय नपठाएको, होटलमा बस्दा बच्चाहरूका लागि अनुपयुक्त वातावरणमा राखेको र कान्छी छोरीको स्वास्थ्यलाई समेत जोखिममा पारेको आरोप वकिलहरूले लगाएका छन्।
बिहीबार साँझ जारी एक विज्ञप्तिमा दुबई सरकारी वकिलको कार्यालयले यस मामिलामा अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अघि बढिरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी बालबालिकाको हित र कल्याणलाई सुरक्षित गर्दै प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कदमहरू चाल्न जारी राख्नेछौँ।”
यसको प्रतिक्रिया स्वरूप, मानवअधिकारवादी वकिल हेगले यूएई सरकारसँग जेनाबलाई तत्काल उनका वकिल, वाणिज्य दूतावास र परिवारसँग सम्पर्क गर्न दिन तथा दुबईस्थित उनकै घरमा फिर्ता पठाई हिरासतमुक्त गर्न माग गरेका छन् ।







डिसी नेपाल







Facebook Comment