सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पदाधिकारीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

डिसी नेपाल
२२ जेठ २०८३ १५:५३

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले नवमनोनित कुलपति रामचन्द्र नेपाललाई बिहीबार पद तथा गोपनीयताको सपथ गराएका थिए।

लगत्तै, मुख्यमन्त्री शाहबाट सपथ लिएका कुलपति नेपालले प्रतिष्ठानका उपकुलपति, सदस्य सचिव, परिषद् सदस्यहरू र प्राज्ञ सभाका सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।

सपथ ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, प्रदेश सभा सदस्य बिक्रम सिंह धामी र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल लगायतको उपस्थिति थियो।

प्रतिष्ठानको कुलपतिमा नेपाल र उपकुलपतिमा सरस्वती दाहाल नियुक्त भएका छन्। यसैगरी, प्रतिष्ठानको अत्यन्त महत्त्वपूर्ण जिम्मेवारी मानिने परिषद् सदस्य सचिव पदमा चर्चित डेउडा गायक सुरत बहादुर रावत ‘डोटेली कान्छा’ नियुक्त भएका हुन्। प्रतिष्ठानको परिषद् सदस्यहरूमा विष्णुभक्त खैर र कृष्णा सिराडी चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *