भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण

डिसी नेपाल
२३ जेठ २०८३ २०:५२

राजविराज (सप्तरी) । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गको आज स्थलगत निरीक्षण गरेका छन्।

सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर उनले सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए।

सिरहा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन कञ्चनपुर–कमला राजमार्गको निरीक्षण गरे। मन्त्री लम्साल तथा प्रतिनिधिसभा सदस्य गुप्ताले निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै निर्धारित समय सीमाभित्र गुणस्तरीय ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिए।

मन्त्री लम्सालले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै निर्माण कार्यमा कुनै ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराए। उनले सडकको गुणस्तरमा विशेष ध्यान दिँदै जनताले छिट्टै सुरक्षित र सहज यातायात सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आग्रह गरेका थिए।

सांसद बब्लु गुप्ताले निर्माण कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिँदै स्थानीयवासीको अपेक्षाअनुसार समयमै सडक सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *