उपत्यकामा २४ घण्टाभित्रै २ हजार २५६ सवारीचालक कारबाहीमा

डिसी नेपाल
२४ जेठ २०८३ ७:०१

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।

बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा दुई हजार २५६ जना सवारीचालकहरू सवारी नियम उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको यस देशव्यापी तथा स्थानीय सक्रियताका कारण नियम मिच्नेहरूबाट एकैदिन राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको विवरण अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने र मादकपदार्थ सेवन (मापसे) गर्नेहरू रहेका छन्।

प्रहरीका अनुसार तीव्र गतिमा चलाउने २३० जना र मापसे गरेर सवारी चलाउने १५१ जना चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यसैगरी, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, ट्राफिक संकेत बत्ती (रेड लाइट) उल्लंघन गर्ने १४२ जना र निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना चालकहरू पनि कारबाहीको दायरामा आएका छन्।

कारबाही परेका अन्य चालकहरूमा सडक पेटी (फुटपाथ) मा जथाभाबी सवारीसाधन ‘पार्किङ’ गर्ने ११७ जना, एकतर्फी (वान वे) सडकमा सवारी कुदाउने ११८ जना र ‘लेन’ अनुशासन पालना नगर्ने ३३ जना रहेका छन्।

यसबाहेक अन्य विविध किसिमका सवारी नियमहरू पालना नगरेका एक हजार १६१ जना चालकहरूलाई समेत ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ। उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक जाँच र कारबाही अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *