१८औँ वार्षिकोत्सवमा दरबार रोधीको सामाजिक कार्य: दृष्टिविहीन कलाकारलाई सहयोग गर्दै तीन दिने सांगीतिक उत्सव गर्ने

डिसी नेपाल
२४ जेठ २०८३ १९:३२

काठमाडौँ। नेपाली लोक संगीत र संस्कृतिको संरक्षणमा विगत १८ वर्षदेखि निरन्तर क्रियाशील दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ।

आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीन दिने विशेष उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ स्थापित कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएका हुन्।

वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारहरूलाई हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ। यसै सिलसिलामा क्लबका सञ्चालक सुनिल कुँवरले हालै ‘इन्द्रेणी’ कार्यक्रमको मञ्चमा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिसकेका छन्।

कलाकार र कर्मचारीहरूको अथक मेहनतले नै क्लब यो उचाइसम्म आइपुग्न सफल भएको बताउँदै सञ्चालक कुँवरले अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबको आम्दानीको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडक तथा संघर्षरत र दृष्टिविहीन कलाकारहरूको हितका लागि छुट्याइने प्रतिबद्धता व्यक्त गरे।

तीन दिनसम्म चल्ने यस भव्य सांगीतिक मेलाको पहिलो दिन अर्थात् जेठ २९ गते प्रेम राजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको विशेष प्रस्तुति रहनेछ।

त्यसैगरी, दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्त रानी परियारले दर्शकलाई मनोरञ्जन दिलाउनेछन् भने समापनको दिन जेठ ३१ गते विश्व दोङ र टीका सानुले सांगीतिक माहोल तताउनेछन्। यो उत्सव तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म चल्नेछ, जहाँ आउने दर्शकले सांगीतिक मनोरञ्जनका साथै विशेष छुट र सहुलियतको सुविधा समेत पाउनेछन्।

विगत १८ वर्षदेखि नयाँ प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने थलोका रूपमा स्थापित यस क्लबले कयौँ कलाकारहरूलाई व्यावसायिक मञ्च प्रदान गर्दै सांगीतिक क्षेत्रमा बलियो आधारशिला निर्माणको काम समेत गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *