पालिकाबाट १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत

डिसी नेपाल
२४ जेठ २०८३ २१:५१
टक्सार (भोजपुर)। भोजपुरको रामप्रसाद राई गाउँपालिकाले शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। पालिकाले १० जना शिक्षकशिक्षिकालाई सम्मान गर्नुका साथै कक्षा आठमा उत्कृष्ट हुने दुई विद्यार्थीलाई आज पुरस्कृत गरेको हो।
पालिकाभित्रका प्रारम्भिक बाल विकास तथा शिक्षा (इसिडी)देखि माध्यमिक तहसम्मका १० उत्कृष्ट शिक्षक शिक्षिका सम्मान गर्दै प्रोत्साहन गरेको छ। पालिकाले इसिडीतर्फ समिस्मा राई, प्राथमिक तहतर्फ सुरेश राई, विज्ञान राई, शान्तिराम बस्नेत, आनन्द भुजेललाई सम्मान गरेको हो। त्यस्तै पालिकाले निम्न माध्यमिक तहतर्फ धीरज राई र माध्यमिकतर्फ चन्द्र लिम्बू, सुमन उप्रेती, आशिस पाण्डे र नुमादेवी काफ्लेलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको हो।
पालिकाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। उनले भने, “पालिकाभित्रको शैक्षिक सुधारमा हामी लागिपरेका छौँ। शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकतामा छ, यसलाई निरन्तरता दिन्छौँ।”
अध्यक्ष राईले कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई नगदसहित प्रमाणपत्र र १० जना शिक्षक शिक्षिकालाई सम्मानपत्र प्रदान गरे। पालिकाले यसअघि पालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई ल्यापटपसहित सम्मान गरिसकेको छ।
पालिकाले शैक्षिक स्वेतपत्र जारी गरेको छ भने भोजपुर बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *