वीरगञ्जका मेयर सिंहसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विशेष अदालतमा उनीहरू विरुद्ध मुद्दा दर्ता गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा मेयर सिंहसहित सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई रहेका छन्। यस्तै, सोही प्रकरणमा संलग्नता देखिएका जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध पनि मुद्दा चलाइएको छ।
अख्तियारले नागरिकता कीर्ते काण्डबारे छानबिन गर्न सरकारद्वारा गठित समितिका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाएको छ। तत्कालीन छानबिन समितिका संयोजक एवं उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि गलत प्रतिवेदन तयार पारेको आरोपमा मुद्दा दायर गरिएको हो।
मेयर सिंहले आफ्नी छोरीको नागरिकता बनाउने क्रममा पद र पहुँचको दुरुपयोग गरी झुटा विवरण र कागजात खडा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। सोही प्रकरणमा मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment