अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी
काठमाडौं। वरिष्ठ भारतीय अभिनेता राकेश बेदीले अभिनय क्षेत्रमा सफल हुन धैर्यता, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताएका छन्।
हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि आइतबार काठमाडौं आएका बेदीले सोमबार मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा अभिनयप्रतिको आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै कलाकारले कहिल्यै हताश हुन नहुने बताए।
उनले कलाकारले सानो वा ठूलो जुनसुकै भूमिका पाए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्नेमा जोड दिए। ‘कलाकारले आफूले पाएको अवसरलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। सफलताको समय कहिले आउँछ भन्ने कसैले भन्न सक्दैन, तर मेहनत र समर्पण भने आफ्नै हातमा हुन्छ,’ उनले भने।
बेदीले अभिनय केवल संवाद बोल्ने कला नभई पात्रको मनोविज्ञान, शारीरिक भाषा र भावनात्मक गहिराइ बुझ्ने प्रक्रिया भएको बताए।
चलचित्र उद्योगमा आफूले चार दशकभन्दा बढी समय बिताएको उल्लेख गर्दै उनले कलाकारले आफूलाई अरूसँग तुलना गरेर निराश हुन नहुने बताए। ‘मलाई जति अवसर मिल्नुपथ्र्यो त्यति मिलेन भन्ने सोचले कलाकारलाई निराशा र अवसादतर्फ लैजान सक्छ। त्यसैले आफ्नो काममा केन्द्रित भएर निरन्तर अघि बढ्नुपर्छ,’ उनले भने।
उनले सफलताको मापन समयअनुसार परिवर्तन भएको पनि बताए। पहिले चलचित्र वा कलाकारको प्रचार सीमित माध्यमबाट हुने गरेकामा अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका कारण सफलताको दायरा विश्वव्यापी बनेको उनको भनाइ थियो।
बेदीले निर्देशक र कलाकारबीच सहकार्यको भावना महत्वपूर्ण हुने उल्लेख गर्दै चलचित्र निर्माण सामूहिक प्रयासको परिणाम भएको बताए। ‘चलचित्र निर्देशकको कल्पनाबाट सुरु हुन्छ, तर निर्माणको क्रममा कलाकार, प्राविधिक र सम्पूर्ण टोलीको योगदानले त्यसलाई पूर्णता दिन्छ,’ उनले भने।
नेपाली चलचित्रबारे बोल्दै उनले आफूले धेरै नेपाली फिल्म नहेरेको स्वीकार गरे। यद्यपि, भाषा अब चलचित्रको मुख्य बाधा नरहेको उल्लेख गर्दै गुणस्तरीय विषयवस्तु र नयाँ सोच भएका चलचित्रले अन्तर्राष्ट्रिय दर्शक आकर्षित गर्न सक्ने बताए।
उनले दक्षिण कोरियाली चलचित्रहरूको उदाहरण दिँदै मौलिक कथा, नवीन प्रस्तुति र विश्वस्तरीय निर्माणले कुनै पनि देशको चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सक्ने धारणा व्यक्त गरे।
नेपालप्रति सकारात्मक धारणा व्यक्त गर्दै बेदीले नेपाली दर्शकको आत्मीयता र मायाले आफूलाई घरमै भएको अनुभूति गराएको बताए।







डिसी नेपाल







Facebook Comment