१० महिनामा १९ खर्ब १६ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, वैशाख महिनामा मात्रै साढे २ खर्ब बढी प्राप्ति
काठमाडाैं। चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट नेपालमा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनअनुसार विप्रेषण आप्रवाहमा गत वर्षको तुलनामा ४१.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दर १३.३ प्रतिशतले मात्र बढेको थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
जुन अघिल्लो वर्षको वैशाख महिनाको तुलनामा निकै बढी हो; गत वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो।
यसैगरी, अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रूपमा बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा डलरमा रेमिट्यान्सको वृद्धिदर १०.६ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment