यूएई चिठ्ठामा २६ वर्षीय नेपाली युवालाई बम्पर उपहार, सेक्युरिटी गार्डबाट रातारात बने अर्बपति
अबु धाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को आधिकारिक राष्ट्रिय चिठ्ठा ‘द यूएई लट्री’ को मुख्य पुरस्कार एक नेपाली युवाले जितेका छन्। विगत चार वर्षदेखि अबु धाबीको रुवैस औद्योगिक क्षेत्रमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २६ वर्षीय नेपाली नागरिक तैयब खानले ३ करोड दिर्हाम (नेपाली रुपैयाँ १ अर्ब २५ करोडभन्दा बढी) को ऐतिहासिक बम्पर उपहार जित्न सफल भएका हुन्।
गत मे २७ मा ईद-उल-अजहाको अवसरमा सञ्चालित ‘लक्की डे’ ड्रमार्फत उनले छानेका सातवटा नम्बरहरू भाग्यशाली सावित भएका थिए। चिठ्ठा सार्वजनिक भएको समयमा खान भने आफ्नो नियमित नाइट ड्युटीमा व्यस्त थिए।
राति साढे १० बजे मोबाइलमा आएको आधिकारिक इमेल हेरेपछि मात्र उनले आफू मल्टि-मिलियनर बनेको थाहा पाएका थिए। उक्त अविश्वसनीय क्षणको स्मरण गर्दै खानले भने, “मैले इमेल खोलेर ३ करोड दिर्हाम लेखेको देख्दा मेरा हातगोडा जिरिङ्ग भए, जिउ नै काँप्यो। मलाई यो कुनै सपना जस्तो लागिरहेको थियो। अहिले पनि त्यो खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो भइरहेको छ।”
चिठ्ठा व्यवस्थापन कम्पनीले सुरुमा सुरक्षाका कारण उनको नाम गोप्य राखे पनि हालै उनको पूर्ण पहिचान सार्वजनिक गरेको हो। यो ठुलो धनराशि तैयब एक्लैले भने राख्ने छैनन्। उनले आफ्ना अन्य चार जना नजिकका नेपाली साथीहरूसँग मिलेर ५० दिर्हाम (करिब १८०० नेपाली रुपैयाँ) संकलन गरी उक्त टिकट खरिद गरेका थिए।
सामाजिक सञ्जाल फेसबुकमा चिठ्ठा सम्बन्धी जानकारी पाएपछि खानले ह्वाट्सएपमा ‘फ्युचर मिलियनेर्स’ नामक समूह बनाएर सन् २०२४ देखि नियमित रूपमा पैसा उठाएर भाग्य परीक्षण गर्दै आएका थिए। पुरस्कार रकम पाँच जनामा बराबर बाँडिने भएकाले तैयबको हिस्सामा मात्र ६० लाख दिर्हाम (करिब २५ करोड नेपाली रुपैयाँ) पर्नेछ।
खानका अनुसार उनका अन्य साथीहरूमध्ये कोही भर्खरै बुबा बनेका छन् भने कोही भर्खरै वैवाहिक बन्धनमा बाँधिएका छन्, जसका कारण यो जितले सबैको जीवनमा ठुलो आर्थिक राहत ल्याएको छ। रातारात भाग्य बदलिएपछि खानले अब सेक्युरिटी गार्डको कठिन जागिर छोडेर नयाँ व्यावसायिक यात्रा सुरु गर्ने निर्णय गरेका छन्।
उनले आफ्नो पहिलो प्राथमिकता नेपालमा परिवारका लागि एउटा व्यवस्थित र सुविधासम्पन्न घर निर्माण गर्नु रहेको बताए। यसका साथै लामो समयदेखिको व्यक्तिगत इच्छा पूरा गर्न ‘महिन्द्रा थार’ जिप र ‘रोलेक्स’ घडी खरिद गर्ने तथा बाँकी रकम दुबईको रियल एस्टेट क्षेत्रमा लगानी गरी उद्यमी बन्ने उनको सोच छ।
यूएई लट्रीले सन् २०२५ को अन्त्यतिर आफ्नो पुरस्कार संरचना परिमार्जन गरी ३ करोड दिर्हाम कायम गरेयता यो विधामा बम्पर पुरस्कार जित्ने तैयब पहिलो व्यक्ति हुन्।







डिसी नेपाल







Facebook Comment