पाँच उत्कृष्ट कृतिलाई ‘यशस्वी पुस्तक पुरस्कार’ प्रदान
काठमाडाैं। काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकहरूलाई यस वर्षको ‘यशस्वी पुस्तक पुरस्कार’ प्रदान गरिएको छ।
यशस्वी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित तथा ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करणको अवसर पारेर पुल्चोकस्थित होटल हिमालयमा यो पुरस्कार वितरण समारोह सम्पन्न भएको हो।
वि.सं. २०८१ सालमा प्रकाशित भएका पुस्तकहरूमध्येबाट उत्कृष्ट ठहरिएका पाँच कृतिहरूलाई मूल्यांकनका आधारमा मनोनयन गरी पुरस्कृत गरिएको हो।
पुरस्कार वितरण समारोहमा काव्य विधातर्फ हेमन्त शिशिरको कृति ‘बन्द कोठाको झ्याल’ उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएको छ। त्यसैगरी आख्यानतर्फ जयराम तिमिल्सिनाको ‘धीमहि’ र गैर-आख्यान विधातर्फ भवानी खत्रीवडाको ‘प्रणाम सगरमाथा’ लाई सो पुरस्कार प्रदान गरियो।
अनुसन्धान विधामा दीपेन्द्रराज तिमिल्सिनाको कृति ‘गुमनाम एक इतिहास: बिसे नगर्ची’ र अङ्ग्रेजी अनुवादतर्फ सबिता गौतम दाहालको ‘Pyramids of Lexical Ripples’ पुरस्कृत भएका छन्।
यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७९ सालदेखि हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट पुस्तकहरूलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ। साहित्य र अनुसन्धानको क्षेत्रमा स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यस यशस्वी पुस्तक पुरस्कारको राशि जनही बीस हजार रुपैयाँ र साथमा प्रमाणपत्र रहेको छ।







डिसी नेपाल







Facebook Comment