मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई

डिसी नेपाल
२८ जेठ २०८३ १८:३०

काठमाडौं। यस वर्षको ‘मिसेस ग्लोबल नेपाल २०२६’ को ताज काठमाडौं गोंगबुकी सभ्या महर्जनले पहिरिन सफल भएकी छन्। मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एन.एफ.इ.ए २०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्।

बिहीबार राजधानीमा सम्पन्न भव्य फाइनल स्पर्धामा रन्जिता क्षेत्री फस्ट रनरअप र अन्जु भट्टराई सेकेन्ड रनरअप घोषित भए। हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको यो राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको नवौं संस्करण हो।

विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी महिलाहरूको सहभागिता रहेको यस प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो। सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले उनीहरूलाई व्यक्तित्व विकास, उद्घोषण कला, स्टेज प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, नेतृत्व क्षमता विकास, फोटोसुट र भिडियोसुटलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक ओपनिङ डान्सबाट भएको थियो, जहाँ उनीहरूले कोरियोग्राफर सुब्बाकै निर्देशनमा प्रतियोगिताको थिम सङमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, टप नाइन र टप सिक्स हुँदै प्रतियोगिता क्राउनिङ चरणमा पुगेर समापन भएको थियो।

कार्यक्रममा मुख्य उपाधिका अलावा विभिन्न विधागत विनरहरू समेत घोषणा गरिएको थियो। जसअन्तर्गत मुख्य विजेता सभ्या महर्जनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस दुवै अवार्ड हात पारिन्।

त्यस्तै रोशी धितालले बेस्ट फोटोजेनिक, रन्जिता क्षेत्रीले मोस्ट स्मार्ट, अन्जु भट्टराईले मोस्ट डाइनामिक र बिमला महर्जनले मोस्ट चार्मिङ र माेस्ट पपुलर अवार्ड जिते। प्रतियोगितामा सरला थापा मोस्ट कन्फिडेन्ट, ललिता राई बेस्ट कम्प्लेक्सन, बिमला श्रेष्ठ बेस्ट पर्सनालिटी, वेस्ट मल्टिमिडिया गिता खतिवडा, निर्मला नगरकोटी मोस्ट प्यासोनेट, गिता खतिवडा मोस्ट डिलिजेन्ट र बिना महर्जन मोस्ट एट्र्याक्टिभ घोषित भए। यसैगरी मिनाकुमारी मगरले मोस्ट डेडिकेटेड र वेस्ट पब्लिक च्वाइस विधामा बाजी मारिन् भने अन्जुदेवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेतृ एवं इभेन्ट अर्गनाइजर मेनुका माझी र ‘ब्युटिसियन नेपाल २०२६’ सानु थापा मगरलगायत रहेका थिए।

विवाहित महिलाहरूको क्षमता र प्रतिभालाई समाजसामु प्रस्फुटन गराउँदै उनीहरूको छुट्टै पहिचान बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *