रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

डिसी नेपाल
२८ जेठ २०८३ २०:०३

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका तत्कालीन माओवादी लडाकुका कमाण्डर गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त मुद्दाको पुनरावलोकन सुनुवाइ गर्दै यसअघि सर्वोच्चकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याएर सजाय बढाउने निर्णय गरेको हो।

यसअघि सर्वोच्चको संयुक्त इजलासले बटालालाई सहुलीयत दिँदै तीन वर्ष मात्र कैद सजाय तोकेको थियो। तर, उक्त फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि गम्भीर सुनुवाइ गर्दै पूर्ण इजलासले अघिल्लो निर्णय संशोधन गरी बटालाको कैद अवधि १० वर्ष कायम गरिदिएको छ।

यो संवेदनशिल र लामो समयदेखि बहसमा रहेको घटनाको पृष्ठभूमि वि.सं. २०६४ सालबाट सुरु भएको थियो।

तत्कालीन समयमा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरस्थित माओवादी सेनाको तेस्रो डिभिजनले कोटेश्वरमा माओवादी निकट मानिने व्यापारी रामहरि श्रेष्ठकै घरमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो।

सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र एउटा पेस्तोल चोरी भएपछि माओवादी वृत्तमा ठूलो खैलाबैला मच्चिएको थियो। रकम र हतियार चोरीको आरोप श्रेष्ठमाथि लगाउँदै माओवादी कमाण्डरहरू गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की लगायतको टोलीले २०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा पुर्‍याएका थिए।

लडाकु शिविरभित्रै नियन्त्रणमा राखेर श्रेष्ठमाथि बर्बरतापूर्वक अत्यधिक कुटपिट र शारीरिक यातना दिइएको अनुसन्धानबाट खुलेको थियो। सोही यातनाका कारण शिविरभित्रै श्रेष्ठको दुःखद मृत्यु भएपछि घटनालाई लुकाउन उनको शवलाई वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला पारिएको थियो।

यो घटनाले द्वन्द्वकालीन समयमा नागरिकको बाँच्न पाउने अधिकारमाथि गम्भीर प्रश्न उठाएको थियो। घटनाको झण्डै १५ वर्षपछि पुनः ब्युँतिएको यस प्रकरणमा केही समयअघि मात्र माओवादीका अर्का कमाण्डर कालीबहादुर समेत पक्राउ परेका थिए।

सर्वोच्च अदालतको यो पछिल्लो फैसलाले बलियो कानुनी नजिर स्थापित गर्दै पीडित परिवारलाई न्यायको अनुभूति गराएको छ भने अपराधमा संलग्न कमाण्डर बटालालाई कडा कानुनी कठघरामा उभ्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *