मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६: सौरभ सिटौला र आर्यना सिंहले जिते मुख्य उपाधि

डिसी नेपाल
२८ जेठ २०८३ २०:२५

काठमाडौं। मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम-५’ को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले हात पारेका छन्।

मुख्य विजेता बनेका सौरभ र आर्यनाले उपाधिसँगै जनही २ लाख रुपैयाँ नगद, आकर्षक स्मार्टफोन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गरेका छन्। देशभरका एसइई उत्तीर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगिताले युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा फेसन र मनोरञ्जन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने उद्देश्य राखेको कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) ले जानकारी दिए।

यस फेशन तथा मोडलिङ प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राई ‘फेस अफ एसइई सुपर मोडल २०२६’ चुनिएका छन्। त्यसैगरी अन्य प्रतिस्पर्धीहरूमध्ये जोयल महर्जन र युइशा बस्नेत फस्ट रनरअप, साओलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेण्ड रनरअप, आरव श्रेष्ठ र सुम्निमा बजगाईं थर्ड रनरअप तथा अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनरअप घोषित भए। प्रतियोगितामा विधागत अवार्डतर्फ बिबेक भुसाल र जेलिशा श्रेष्ठले ब्राण्ड एम्बासडरको उपाधि पाउँदा साइस् रौनियार र जेत्सुन डोल्मा मोक्तान अर्गनाइजर च्वाइस, सदिक्षा तामाङ ब्यूटी विथ ब्रेन तथा सुषान्त तामाङ र हिमानी लामिछाने भ्यालेन्टिनो ब्राण्ड एम्बासडर घोषित भएका छन्।

यसैगरी साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड, आयुष्री कार्कीले भ्यूज च्वाइस अवार्ड, अविनाश तामाङले भ्यूज च्वाइस रनरअप तथा अरिका थापा र प्रिन्स पाण्डेले मोस्ट पपुलर रनरअपको उपाधि हासिल गरे।

फेसन र मोडलिङ जगतका चर्चित कोरियोग्राफरद्वय सुगन्धा अधिकारी र अर्शु महर्जनले आकर्षक कोरियोग्राफी गरेको यस प्रतियोगिताको फाइनल स्पर्धालाई सञ्चारकर्मी रोजिन शाक्यले आधिकारिक रूपमा होस्ट गरेका थिए।

कार्यक्रमका विजेताहरूले आकर्षक नगद पुरस्कारसँगै एभरेष्ट फिल्म एकेडेमीमा छात्रवृत्ति, प्रोफेसनल मेकअप कोर्स, नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, विभिन्न चर्चित ब्राण्डका गिफ्ट ह्याम्परहरू तथा खेलकुद र फिटनेस प्याकेजहरू समेत हात पारेका छन्।

फेसन प्रतियोगितालाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी विद्यार्थीहरूको शैक्षिक भविष्यसँग समेत जोडिएको छ, जसअन्तर्गत सहभागी सबै विद्यार्थीहरूलाई नेपालका २० भन्दा बढी प्रतिष्ठित कलेजहरूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा ए-लेभल उच्च शिक्षा अध्ययनका लागि विभिन्न छात्रवृत्तिको अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *