अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको घटनामा गृहमन्त्रीको एक्सन: तत्काल छानबिन गर्न निर्देशन
काठमाडौं। लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन्।
विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा निरन्तर धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका बिकलाई गृहमन्त्री गुरुङले मन्त्रालयमै बोलाएर विशेष भेटघाट गरेका हुन्।
आफ्नो काखमा नवजात शिशु च्यापेर न्यायको याचना गर्दै सुजन बिक गृहमन्त्रीको कार्यकक्षमा पुगेका हुन्। सो क्रममा उनले श्रीमतीको अकाल मृत्यु अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै आँसु बगाए।
सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा आफूले श्रीमती गुमाउनुपरेको र नवजात शिशुको भविष्य समेत संकटमा परेको भन्दै उनले दोषीमाथि कानुनी कारबाही र आफ्नो परिवारको संरक्षणका लागि सरकारसँग गुहार मागे।
पीडित सुजन बिक र उनको बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री सुधन गुरुङ निकै भावुक बनेका थिए। पीडित परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनिसकेपछि गृहमन्त्री गुरुङले तत्कालै कडा कदम चानेका छन्।
राज्य नागरिकको अभिभावक भएकाले अस्पतालको लापरबाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै उनले यो घटनाको गहिराइमा पुगेर छानबिन गरिने र दोषीलाई कडा भन्दा कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री गुरुङले मन्त्रालयका उच्च अधिकारीहरूलाई तत्कालै एक विशेष छानबिन समिति गठन गर्न र उक्त घटनाको सत्य तथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन कडा निर्देशन दिएका छन्। छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कुनै हालतमा नछाडिने र कानुनी दायरामा ल्याएरै छाड्ने दृढता उनले प्रकट गरे।







डिसी नेपाल







Facebook Comment