आईएमई लाइफ इन्स्योरेन्स र मातृका आई सेन्टरको सहकार्य: १०० जना विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मातृका आई सेन्टरसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराउने भएको छ।
जनकपुरमा आयोजना हुने यस विशेष स्वास्थ्य कार्यक्रमका लागि इन्स्योरेन्स कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। यस परोपकारी कार्यबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने १०० जना मोतियाबिन्दु पीडित नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको छ।
मातृका आई सेन्टरले विगत लामो समयदेखि देशका विभिन्न जिल्लाहरूमा पुगेर आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतियाबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
सेन्टरको यसै क्षेत्रको लामो अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिएपछि लक्षित समुदायमा निकै सकारात्मक प्रभाव सिर्जना हुने विश्वास दुवै संस्थाले लिएका छन्।
साझेदारीका सन्दर्भमा बोल्दै आईएमई लाइफ इन्स्योरेन्सका उप-कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरे।
उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा र जीवन जिउने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, मातृका आई सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सले पुर्याएको सहयोगात्मक हातप्रति विशेष आभार व्यक्त गरे। उनले यस मानवीय कार्यक्रमले ग्रामीण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूलाई पुनः उज्यालो संसार देख्न मद्दत पुग्ने बताए।
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो मूल मन्त्र ‘इन्स्योरिङ फ्युचर’ अनुरूप सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र समुदाय उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ।







डिसी नेपाल







Facebook Comment