१० करोड क्लबतर्फ उन्मुख ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन डेनमार्कबाट सुरु हुने
काठमाडौं। गत वैशाख २५ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ आजदेखि सफलतापूर्वक छैठौँ सातामा प्रवेश गरेको छ।
बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै यो चलचित्र वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली चलचित्रहरूको तुलनामा व्यावसायिक रूपमा निकै अगाडि देखिएको छ।
घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको सानदार ग्रस कलेक्सन गरिसकेको ‘लालीबजार’ को सुखद व्यावसायिक यात्रा अब १० करोडको ऐतिहासिक क्लबतर्फ तीव्र गतिमा अगाडि बढेको छ।
नेपाली बजारमा बलियो व्यापार गरिरहेको यस चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अर्थात् डायस्पोरा रिलिज पनि तय भएको छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ को वैदेशिक प्रदर्शन युरोपको डेनमार्कबाट सुरु हुन लागेको हो।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा चलचित्रको विशेष प्रदर्शन गरिनेछ। समाजमा शिक्षाको ज्योतिले पार्ने सकारात्मक प्रभाव र परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर बुनिएको यस चलचित्रको कथावस्तुलाई दर्शकले निकै रुचाएका छन्।
सफल चलचित्र निर्माणमा आफ्नो छुट्टै पहिचान बनाएको षट्कोण आर्ट्सले यसअघि ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता समीक्षक र व्यावसायिक दुवै रूपमा अब्बल सावित भएका चलचित्रहरू दर्शकमाझ पस्किसकेको छ।
‘लालीबजार’ मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टल लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गरेका छन्। नवकलाकार विशाल लामो समयदेखि थिएटर अर्थात् रङ्गमञ्चमा सक्रिय प्रतिभा हुन् भने प्रशंसा सामाजिक सञ्जालमा ‘जेनजी’ पुस्ताकी चर्चित र प्रिप्रीत शृङ्खलाकारका रूपमा स्थापित छिन्।
निर्देशक यम थापाको मौलिक कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई चर्चित निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा साथ दिएका छन्।
चलचित्रमा प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन्। व्यावसायिक रूपमा सफल र सामाजिक सन्देश बोकेको यो चलचित्रले आगामी दिनमा थप नयाँ रेकर्ड राख्ने अपेक्षा निर्माण पक्षको छ।







डिसी नेपाल







Facebook Comment