पुरुषोत्तम मासको कथा : उपेक्षितले पहिचान प्राप्त गरेको कथा
मानिसले समयलाई केवल घडी, पात्रो र मितिमा नाप्छ। धर्मले समयलाई चेतना, साधना र आत्मपरिवर्तनमा नाप्छ। यही कारणले हिन्दू जीवनदर्शनमा समय केवल बित्ने वस्तु होइन, साध्य र साधन दुवै हो।
पुरुषोत्तम मासको कथा यही समयदर्शनको अत्यन्त सुन्दर, प्रतीकात्मक, मनोवैज्ञानिक एवं दार्शनिक आख्यान हो। यो कथाले भन्छ : जसलाई संसारले अधिक, अशुभ वा मल भन्छ, ईश्वरको स्पर्श पाएपछि त्यही पुरुषोत्तम बन्न सक्छ। तर सम्बन्धित उपेक्षितले पनि आफ्नो अस्तित्वका लागि पहल गर्नैपर्छ।
कथाको विषयवस्तु अत्यन्त मार्मिक छ। बाह्र महिनाका आ-आफ्ना स्वामी छन् तर अधिकमास स्वामीविहीन छ। त्यसैले सबैले उसलाई मलमास भनी अपमान गर्छन्। ऊ उपेक्षित, निराश र असहाय भएर विष्णुको शरणमा जान्छ।
श्रीविष्णुले उसलाई गोलोकमा श्रीकृष्णसमक्ष लैजानुहुन्छ। पुरुषोत्तम श्रीकृष्णले उसलाई आफ्नो नाम, वैभव र महिमा प्रदान गर्नुहुन्छ। त्यही उपेक्षित महिना अर्थात् मलमास पुरुषोत्तम मास बन्छ। यो केवल धार्मिक कथा मात्र होइन, यो त सामाजिक र मनोवैज्ञानिक क्रान्तिको कथा हो। जसलाई समाजले अस्वीकार गर्छ, उसलाई ईश्वरले स्वीकार गर्न सक्छ।
मानवीय जीवनमा पनि कतिपय समयहरू मलमास जस्तै हुन्छन्। बेरोजगारी, रोग, शोक, एक्लोपन, अपमान, असफलता, अवकाश, वृद्धावस्था, दाम्पत्यदुःख, सन्तानशोक र आर्थिक सङ्कट : यी सबै समयलाई हामी व्यर्थ मान्छौँ।
तर कथाले भन्छ : यस्तो सङ्कटपूर्ण समय जीवनतत्वको बुझाइमा बदलियो भने जीवनको सबैभन्दा ठूलो आध्यात्मिक उपलब्धि बन्न सक्छ। पुरुषोत्तम मासको मूल शिक्षा यही हो : समय आफैँमा अशुभ हुँदैन। चेतना अशुद्ध भए समय अशुभ लाग्छ, चेतना पवित्र भए समय तीर्थ बन्छ।
द्रौपदीको पूर्वजन्मको प्रसङ्गले कर्म, उपेक्षा र कृपाको गहिरो सम्बन्ध देखाउँछ। मेधावी ऋषिकी कन्याले दुर्वासाको सेवा त गर्छिन्, तर पुरुषोत्तम मासको महिमा सहजै स्वीकार गर्दिनन्।
पछि भगवान् शिवको तपस्या गरेर पति माग्दा पाँच पटक ‘पति’ शब्द उच्चारण गरेकाले उनले पाँच पति हुने वर पाउँछिन्। अर्को जन्ममा उनी द्रौपदी बन्छिन्, अपमान भोग्छिन्, तर अन्ततः कृष्णकै शरणमा रक्षा पाउँछिन्। यहाँ कथा भाग्यवाद मात्र होइन, अपितु अहम्, शङ्का, भक्ति र कृपाको जटिल मनोविज्ञान हो।
श्रद्धा नहुनु अपराध होइन, तर उपहास र अवहेलना आत्महानीको मार्ग हो भन्ने शिक्षा यस कथाले दिन्छ। दुर्वासाजस्ता क्रोधी ऋषिले पनि मित्रपुत्री र नारी ठानेर उनलाई शाप दिँदैनन्; यो नारीप्रतिको प्राचीन वैदिक दृष्टिकोण हो।
दृढधन्वाको कथा अर्को महत्त्वपूर्ण मनोवैज्ञानिक मोड हो। राजा सम्पन्न छन्। साधनसम्पन्न राज्य, रानी, सन्तान र वैभव सबै छ, तर मनमा प्रश्न उठ्छ- “यो सबै मलाई कसरी प्राप्त भयो?” यही प्रश्न नै अध्यात्मको आरम्भ हो। सुखले मात्र मानिसलाई दार्शनिक बनाउँदैन, सुखको कारणबारे उठेको प्रश्नले बनाउँछ। शुक पक्षी (सुगा) को वचन “तत्त्वचिन्तन नगरे संसार पार कसरी होला?” भन्ने प्रश्नले राजाभित्र निदाएको विवेकलाई जगाउँछ। मानिस बाहिरबाट राजा हुन सक्छ, तर भित्र प्रश्न उठेन भने ऊ अझै दास नै हो।
सुदेव शर्मा र गौतमीको कथा पुरुषोत्तम मासको करुण पक्ष हो। पुत्र प्राप्तिका लागि उनीहरू तड्पिन्छन्। भाग्यमा पुत्र छैन भनिन्छ, तर ईश्वरको कृपाले पुत्र प्राप्त हुन्छ। फेरि त्यही पुत्रको अकाल मृत्यु हुन्छ।
उनीहरूको शोक महिनाभरि चल्छ। उनीहरूले विधिपूर्वक व्रत गरेका हुँदैनन्, तर शोकका कारण भएको उपवास, वर्षाजल–स्नान, ईश्वरको स्मरण र विरहले उनीहरू अनायासै पुरुषोत्तमका साधक बन्छन्।
यहाँ कथा अत्यन्त गहिरो छ-धर्म सधैँ बाहिरी विधि मात्र होइन। कहिलेकाहीँ दुःख नै तपस्या बन्छ। करुणा जब ईश्वरतर्फ फर्किन्छ, तब शोक पनि साधना बन्न पुग्छ। यदि असल कर्म अनजानमा गरिन्छ भने पनि त्यसले शुभफल दिन्छ भन्ने शास्त्रीय मर्यादाको दृष्टान्त यसमा देखिन्छ।
मणिग्रीवको कथा पतन र पुनरुत्थानको कथा हो। हिंसा, मद्यपान, व्यभिचार र दुराचारमा लिप्त मणिग्रीव समाजबाट तिरस्कृत हुन्छ। तर, उसकी सुपतिव्रता पत्नीले उसको साथ छोड्दिनन्।
उग्रदेवको उपदेश अनुसार पुरुषोत्तम मासमा दीपदान गरिन्छ। सोही दीपदानको फलस्वरूप अर्को जन्ममा ऊ चित्रबाहु राजा बन्छ। यो कथाको तात्पर्य हो : मानिस जतिसुकै पतित भए पनि यदि प्रकाशतर्फ फर्कियो भने सम्भावना समाप्त हुँदैन। दीपदान यहाँ केवल तेल र बत्ती मात्र होइन, अन्धकारमा चेतनाको एक सानो ज्योति हो। साथै, यसले पुरुषोत्तम महिनामा दीपदान गर्नुपर्छ भन्ने कर्मकाण्डको स्थापना पनि गर्छ।
कदर्य (चित्रशर्मा) को कथा लोभ र निर्धारित कर्मत्याग गर्ने अर्थात् आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्तिले मान्छेलाई कसरी पतन गराउँछ भन्ने एउटा चेतावनी हो। धन जम्मा गर्ने तर न आफैँ उपभोग गर्ने, न दान गर्ने, न धर्म-कर्म गर्ने, न त अरूको हित गर्ने मानिस अन्ततः प्रेतवत् जीवन बिताउन बाध्य हुन्छ।
लोभले मान्छेलाई जीवित छँदै प्रेत बनाउँछ। कथामा कदर्यले प्रेत र वानरयोनि भोग्छ, तर पुरुषोत्तम मासको संयोगले उद्धार पाउँछ। यो प्रसङ्गले वैदिक कथावस्तुको एउटा स्थायी सत्य उद्घाटन गर्छ- कर्म कठोर छ, तर भगवान्को करुणा र कृपा त्योभन्दा महान् छ।
पुरुषोत्तम मास माहात्म्यका केही अध्यायहरूमा व्रतविधि, आहार, स्नान, पूजा, प्राणप्रतिष्ठा, उद्यापन, दान, अतिथि-सत्कार, गृहस्थधर्म र पतिव्रता धर्मका नियमहरू विस्तृत रूपमा उल्लेख छन्। यी अध्यायहरूलाई आजको समयमा यान्त्रिक रूपमा होइन, विवेकपूर्वक पढ्नुपर्छ।
कतिपय प्राचीन सामाजिक व्यवस्था, जातिगत निषेध र स्त्री-आचारका कठोर नियमहरू आजको मानवअधिकार, समानता र आधुनिक स्वास्थ्य–विज्ञानसँग सीधै मेल नखान सक्छन्। त्यसैले यसको सारतत्व ग्रहण गर्नुपर्छ। असमानता होइन अनुशासन, अनि अन्याय होइन अपितु पवित्रता ग्रहण गर्नुपर्छ।
श्रीपुरुषोत्तम मासको वास्तविक सन्देशलाई चार तहमा बुझ्नुपर्छ। पहिलो, समयको पवित्रीकरण अर्थात् अतिरिक्त समय पनि ईश्वरकै हो। दोस्रो, मनको रूपान्तरण अर्थात् शोक, लोभ, अहम्, अपमान र असफलतालाई साधनामा बदल्न सकिन्छ।
तेस्रो, सामाजिक पुनर्स्थापना अर्थात् जसलाई समाजले हेप्छ, ऊ ईश्वरको आश्रय पाएपछि महान् हुन सक्छ। चौथो, आफ्नो अस्तित्वको खोज गर्नु, त्यसको प्राप्ति गर्नु र अर्थपूर्ण जीवन जिउनु प्रत्येक मान्छेको कर्तव्य हो। मलमासले श्रीविष्णुको सहयोगले आफ्नो अस्तित्व प्राप्त गरेको छ, यही नै यस कथाको आध्यात्मिक लोकतन्त्र हो।
सारमा, श्रीपुरुषोत्तम मासको कथाका विभिन्न प्रसङ्गहरूले मान्छेलाई प्रेरणा दिन्छन् कि समयलाई तुच्छ नसम्झ, दुःखलाई व्यर्थ नसम्झ, उपेक्षितलाई अशुभ नसम्झ र आफ्नै जीवनका खाली समयहरूलाई निरर्थक नठान।
ईश्वरको नाम, दान, साधना, सेवा, संयम र आत्मचिन्तनले “मल” पनि “पुरुषोत्तम” बन्न सक्छ। यही नै श्रीपुरुषोत्तम मासको अमृत हो। त्यसैले पुरुषोत्तम मासको भौतिक व्रत र उपासना गरिरहँदा यसको दार्शनिक तथा मनोवैज्ञानिक पक्षलाई पनि बुझौँ।
वैदिक परम्परामा विकसित भएका हरेक पर्वहरूले मानवीय जीवनलाई अर्थपूर्ण बनाएर जिउन प्रेरित गर्छन्। अर्कोतर्फ, हजारौँ वर्षदेखि हाम्रो समाजले विकास गरेको र मान्दै आएका यस्ता पर्वहरूको संरक्षण, संवर्द्धन र निरन्तरताको जिम्मा पनि हाम्रै हो। यसलाई केवल अन्धविश्वास ठानेर तिरस्कार गरियो भने, हामीले हरेक क्षण आफ्नो पहिचान र अस्तित्व गुमाउँदै जानेछौँ।















Facebook Comment