अदालतको ढोकामा सुखद अन्त्य: शिखाले च्यातिन् सम्बन्धविच्छेदको कागज, सौरभलाई अङ्गालो हालेर रोइन्
नयाँ दिल्ली । विवाद, तिक्तता र कानुनी लडाइँका लागि चिनिने दिल्लीको प्रसिद्ध ‘तीस हजारी अदालत’को परिसरमा हालै एउटा यस्तो भावनात्मक दृश्य देखियो, जसले त्यहाँ उपस्थित वकीलहरू, प्रहरी र आम सर्वसाधारण सबैको आँखा रसायो।
विगत ६ वर्षदेखि वैवाहिक विवाद र सम्बन्धविच्छेदको गम्भीर मुद्दा लडिरहेका शिखा र सौरभ नामको एउटा जोडीले अदालतको ढोकामै पुराना सबै तितोपन भुलेर पुनः एकसाथ जीवन बिताउने निर्णय गरेका छन्।
अदालतभित्र बहस चलिरहेकै बेला श्रीमती शिखाले डिभोर्सका कानुनी कागजातहरू च्यातेर फालिदिइन् र श्रीमान् सौरभलाई अङ्गालो हालेर भक्कानिएर रोएपछि यो घटना सामाजिक सञ्जालमा समेत निकै भाइरल भइरहेको छ।
सौरभ र शिखाको विवाह सन् २०२० मा सामाजिक परम्परा अनुसार भएको थियो। तर, विवाहको केही महिनापछि नै उनीहरूबीच असमझदारी, दैनिक झगडा र खटपट सुरु भयो।
विवाद बढ्दै जाँदा शिखाले श्रीमान् सौरभ र उनको परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गराएकी थिइन्, जसका कारण उनीहरू तीस हजारी अदालतको लामो र अँध्यारो कानुनी सुरुङमा फसे।
पछिल्लो पाँच वर्षदेखि वकिलहरूको दाउपेच र कानुनी प्रक्रियाको चक्कर काट्दा-काट्दै शिखाका बुबाको भएको सबै जम्मा पूँजी र बचत सकिएको थियो। अदालती तनाव, छोरीको अनिश्चित भविष्य र गम्भीर आर्थिक सङ्कटका कारण शिखाका बुबालाई अचानक हर्ट अट्याक (हृदयघात) भयो। निजी अस्पतालमा उपचार गराउने पैसा नभएपछि शिखाले उनलाई एउटा सरकारी अस्पतालमा भर्ना गराएकी थिइन्।
आफूविरुद्ध अदालतमा मुद्दा लडिरहेकी श्रीमतीका बुबा गम्भीर बिरामी परेको र आर्थिक अभाव झेलिरहेको कुरा सौरभले थाहा पाए। पुरानो सबै रिस र कानुनी विवादलाई एकातिर पन्छाउँदै सौरभ तत्काल अस्पताल पुगे र आफ्ना ससुरोलाई सरकारी अस्पतालबाट निकालेर गुरुग्रामको सर्वसुविधासम्पन्न ‘मेदान्ता मेडिसिटी’ अस्पतालमा भर्ना गराए।
सौरभले आफ्नै खर्चमा बुबाको उत्कृष्ट उपचार गराएपछि उनी निको भएर सकुशल घर फर्किए। श्रीमान्को यो निष्कपट र मानवीय व्यवहारले शिखाको मनभित्र गहिरो पश्चाताप र हृदय परिवर्तन गराइदियो। उनले वर्षौँदेखि आफूले पालेको इख र रिस कति गलत थियो भन्ने कुरा महसुस गरिन्।
बुबा निको भएर घर फर्किएको भोलिपल्ट नै तीस हजारी अदालतमा उनीहरूको डिभोर्स मुद्दाको अन्तिम सुनुवाइ तोकिएको थियो। अदालतमा दुवै पक्षका वकिलहरू कडा बहस गरिरहेका थिए। बहकै क्रममा न्यायाधीशले सौरभलाई सोधे, “के तिमी शिखालाई सम्बन्धविच्छेद दिन चाहन्छौ?”
प्रश्न सुन्नासाथ सौरभले केही जवाफ दिनुअघि शिखातिर हेरेर एउटा फिक्का तर आत्मीय मुस्कान दिए। श्रीमान्को त्यो हेराइ र मुस्कानले शिखालाई रोक्न सकेन। उनले तत्कालै आफ्नो हातमा रहेको डिभोर्सको फाइल र कागजपत्रहरू बीचैबाट च्यातेर फालिदिइन् र दौडिएर सौरभको छातीमा टाँसिइन्।
आफ्ना पुराना गल्तीप्रति पश्चाताप गर्दै शिखा सौरभलाई कसेर अङ्गालो हाली रोइरहँदा इजलासमा केही बेर पूर्ण सन्नाटा छायो। वकिलहरू र त्यहाँ उपस्थित मानिसहरू यो अभूतपूर्व दृश्य देखेर स्तब्ध र भावुक बने।
हप्तौँदेखि कानुनको कडा बहस सुनिरहेका न्यायाधीशले पनि यस सुखद पुनर्मिलनलाई सहर्ष स्वीकार गर्दै मुद्दा खारेज गरिदिए। यसरी अदालतको कोठाबाट सुरु भएको एउटा तितो सम्बन्ध अन्ततः अदालतकै चौखटमा आएर एउटा सुखद र प्रेमिल पारिवारिक पुनर्मिलनमा परिणत भएको छ।







डिसी नेपाल







Facebook Comment