पृतनापति ट्रफीको उपाधि श्री नं १८ बाहिनी अड्डालाई
धरान (सुनसरी)। पृतनापति ट्रफी, २०८३ को उपाधि श्री नं.१८ बाहिनी अड्डाले हात पारेको छ। सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा आज सम्पन्न प्रतियोगितामा श्री नं. १८ बाहिनी अड्डा पहिलो भएको छ भन श्री नं. २ बाहिनी अड्डा दोस्रो र श्री नं. २१ बाहिनी अड्डा तेस्रो भएका छन्।
प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल समावेश गरिएको थियो। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई ट्रफीसहित क्रमश रू ५१ हजार, रू ४० हजार र रू ३५ हजार नगद पुरस्कार प्रदान गरिएको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ। केन्द्रीय तहको प्रधानसेनापति ट्रफीका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६४ महिला र ३०५ पुरुष गरी जम्मा ४६९ खेलाडीको सहभागिता थियो।
समापन समारोहलाई सम्बोधन गर्दै पूर्वी पृतना हेडक्वार्टरका पृतनापति गौरवकुमार केसीले खेलकुदले सैनिकको शारीरिक तन्दुरुस्ती मानसिक दृढता अनुशासन नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्ने बताए। सैनिक पेसाको व्यावसायिक जिम्मेवारीका साथै खेलकुदमा सैनिकहरूले देखाएको लगाव गौरवको विषय भएको उल्लेख गर्दै उहाँले राष्ट्रको खेलकुद विकासमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको धारणा राखे।
पृतनापति केसीले आगामी भदौमा आयोजना हुने प्रधानसेनापति ट्रफी, २०८३ मा अझ उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण खेलाडी बाहिनी र सम्बद्ध युनिटहरूलाई आजैदेखि जग बलियो बनाई तयारीमा जुट्न निर्देशनसमेत दिए।
खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment