सचिवालयदेखि केन्द्रीय कमिटीसम्म ओलीको विकल्प खोजी: एमालेभित्र कमजोर बन्दै ‘ओली डक्ट्रिन’
काठमाडौं। नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति संघर्ष र सांगठनिक अन्तर्विरोध इतिहासकै सबैभन्दा जटिल मोडमा पुगेको छ। गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको ऐतिहासिक धक्का र युवा पुस्तामा देखिएको तीव्र आक्रोशपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्विकल्प नेतृत्वमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
लामो समयसम्म पार्टी र सरकार सञ्चालनमा अध्यक्ष ओलीको मुख्य खम्बा र संकट व्यवस्थापक बनेर उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल जस्ता ‘खास’ नेताहरू नै अहिले ओली बाहेकको एमाले अर्थात् नेतृत्व पुनर्गठनको अभियानमा लागेपछि ओली आफ्नै गुटभित्र घरेलु संकटमा परेका हुन्।
लुम्बिनीको भूगोलमा एकअर्काका कट्टर प्रतिस्पर्धी मानिने पौडेल र पोखरेलबीच विकसित भएको अनपेक्षित निकटता र सहकार्यले अध्यक्ष ओलीलाई पार्टीको सत्तामा टिकिरहन निकै मुस्किल बनाएको छ भने निरन्तर दबाबमा रहँदै आएका उपमहासचिव योगेशकुमार भट्टराई लगायतका असन्तुष्ट नेताहरूलाई यस मोर्चाबन्दीले ठूलो राहत दिएको छ।
पार्टीभित्र आफ्नो विकल्प खोज्ने प्रयासले तीव्र गति लिएपछि अध्यक्ष ओली रक्षात्मक बन्दै गएका छन् र उनले आफ्ना मुख्य सहयोगीहरूमाथि नै निसाना साध्न थालेका छन्। कतिसम्म भने महासचिव पोखरेल र उपमहासचिव भट्टराई लगायतको समूहले पार्टी नै फुटाउने योजना बुनिरहेको गम्भीर आरोप ओलीले सार्वजनिक रूपमै लगाउन थालेका छन्।
आफूलाई अप्ठ्यारो पर्दा सहकर्मीहरूमाथि तिखो व्यंग्य गर्ने आफ्नो स्थापित शैली अनुसार ओलीले ‘शंकर लोभी र विष्णु पापी’ भएको टिप्पणी समेत गरेका छन्, जसलाई राजनीतिक वृत्तमा उनको तीव्र संशय र सत्ता गुम्ने डरको अभिव्यक्तिका रूपमा हेरिएको छ।
लुम्बिनीको भूगोलमा एकअर्काका कट्टर प्रतिस्पर्धी मानिने पौडेल र पोखरेलबीच विकसित भएको अनपेक्षित निकटता र सहकार्यले अध्यक्ष ओलीलाई पार्टीको सत्तामा टिकिरहन निकै मुस्किल बनाएको छ भने निरन्तर दबाबमा रहँदै आएका उपमहासचिव योगेशकुमार भट्टराई लगायतका असन्तुष्ट नेताहरूलाई यस मोर्चाबन्दीले ठूलो राहत दिएको छ।
तर, पार्टी बचाउन र एमालेको गुमेको जनमत फर्काउन नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्षमा पुगेका नेताहरूले ओलीको यो आरोपलाई केवल आक्रोश र अहंकारको उपज मात्र भएको बताएका छन्। हिजोका प्रिय पात्रहरू नै आज आफ्नो विकल्पमा उभिएपछि ओली एमालेको आन्तरिक राजनीतिमा दिनप्रतिदिन एक्लिँदै गएका हुन्।
यसै क्रममा गत जेठ ११ गते बसेको सचिवालय बैठकमा समेत १४ जना शीर्ष नेताहरूले खुला रूपमा ओलीको विकल्प खोज्नुपर्ने मत राखेपछि एमालेको अन्तर्विरोध छताछुल्ल भएको थियो।
चार दिनसम्म चलेको उक्त बैठकमा पहिलो पुस्ताले सामूहिक बिदा लिएर दोस्रो वा तेस्रो तहका नेताहरूलाई पार्टीको बागडोर सुम्पिनुपर्ने माग जोडदार रूपमा उठ्यो। विशेष गरी एमालेका नेताहरू उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले आगामी ११ औँ महाधिवेशनबाट आफूहरू पनि बिदा हुने घोषणा गर्दै पहिलो पुस्ताका सबै नेताहरूले अब नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने नैतिक दबाब बढाएका छन्।
सचिवालय बैठकमा आफ्नो विकल्प खोज्ने पक्षमा नेताहरू बलियो रूपमा खुल्न थालेपछि दबाबमा परेका ओलीले आगामी केन्द्रीय कमिटीको बैठक रणनैतिक रूपमा एक महिनापछिका लागि सारेका छन्।
केन्द्रीय कमिटी बैठक अगावै परिस्थितिलाई आफ्नो अनुकूल बनाउन अध्यक्ष ओलीले अहिले नयाँ रणनीति अख्तियार गरेका छन्। विगतमा आफूविरुद्ध भएका घेराबन्दीहरूलाई कमिटी बैठकमा अल्पमत र बहुमतको जोडघटाउबाट ठेगान लगाए जस्तै यसपटक पनि उनी केन्द्रीय सदस्यहरूलाई आफ्नो भक्तपुरको गुण्डुस्थित निवासमा बोलाएर निरन्तर संवाद र छलफल गरिरहेका छन्।
“वन-अन-वन” भेटघाटमार्फत नेताहरूलाई फकाउने र मनोवैज्ञानिक दबाब दिने ओलीको प्रयास भए पनि अहिले पार्टीभित्र डर र त्रासको मनोविज्ञान अन्त्य हुँदै गएको संकेत मिल्न थालेको छ। अहिले केन्द्रीय कमिटीकै नेताहरू ओलीसँग एक्लै भेट्न हच्किरहेका छन् भने भेटघाटमा सहभागी भएका नेताहरूले समेत ‘जी-हजुर’ नगरी पार्टी यही पुरानो कार्यशैली र नेतृत्वबाट अघि बढ्न नसक्ने स्पष्ट सुझाव ओलीलाई दिइरहेका छन्।
इतिहासको ब्याज खाएर मात्रै पार्टीको भविष्य सुरक्षित नहुने भन्दै दोस्रो र तेस्रो तहका नेताहरू वारपारको लडाइँ लड्ने मुडमा पुगेकाले आगामी केन्द्रीय कमिटीको बैठक एमालेको भविष्य र नेतृत्वको दिशा तय गर्ने निर्णायक थलो बन्ने निश्चित देखिएको छ।







डिसी नेपाल







Facebook Comment