दरबार रोधी क्लबको १८औं वार्षिकोत्सव: प्रेमराजादेखि विश्व दोङसम्मका कलाकारले जमाए लोकसंगीतको उत्सव
काठमाडौं। राजधानीको दरबारमार्गस्थित दरबार रोधी क्लब आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा लगातार तीन दिनसम्म नेपाली लोकसंगीतको रंगमा रंगिएको छ।
२९ जेठदेखि सुरु भएको तीन दिने सांगीतिक उत्सवमा एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारहरूले आफ्ना उत्कृष्ट प्रस्तुतिमार्फत दर्शकलाई झुमाए भने अर्कोतिर क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण समेत प्रस्तुत गर्यो। मनोरञ्जन र सामाजिक सेवालाई एकैसाथ अघि बढाएको यस उत्सवले नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धनमा नयाँ आयाम थपेको सहभागीहरूले महसुस गरे।
सांगीतिक उत्सवको प्रारम्भमा वरिष्ठ गायक प्रेमराजा महतको सदाबहार गीत ‘माया भेटियो बन्दीपुरैमा’ बाट सुरु भएको माहोललाई राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिउँ म बैना’ जस्ता लोकप्रिय श्रव्यकाव्यले थप उचाइ दिएका थिए।
कलाकार कृष्ण कँडेलले मञ्चमै लाइभ दोहोरी प्रस्तुत गर्दा दरबार रोधीमा उपस्थित दर्शक दीर्घा निकै उत्साहित बनेको थियो। कार्यक्रमकै सुखद अवसर पारेर क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको हितका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्यो।
क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले आफ्नो संस्थाको तर्फबाट सामाजिक उत्तरदायित्वलाई सधैँ निरन्तरता दिने प्रतिबद्धता जनाउँदै आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट हुने आम्दानीको एक निश्चित हिस्सा मारमा परेका कलाकारहरूको सहयोगार्थ खर्च गरिने घोषणा गरे।
उत्सवको दोस्रो दिन पनि नेपाली लोक विधाका ऊर्जावान् कलाकारहरूको बाक्लो उपस्थिति रह्यो। गायिका प्रीति आलेले आफ्नो चर्चित गीत ‘बामरी बामरी’ गाएर युवा दर्शकहरूलाई नचाएकी थिइन् भने गायक कुलेन्द्र विश्वकर्माले ‘सालको पातको टपरी’ को धुन गुञ्जाएर माहोललाई थप संगीतमय बनाएका थिए।
यसैगरी उत्सवको अन्तिम दिन गायक विश्व दोङको प्रस्तुति सबैको मुख्य आकर्षणको केन्द्र बन्यो। उनले आफ्नो बहुचर्चित तामाङ सेलो गीत ‘माया भन्दा ठूलो जात होइन’ प्रस्तुत गर्दा हलमा उपस्थित सबै दर्शकले ताली र हुटिङका साथ उनलाई साथ दिएका थिए।
दरबारमार्गस्थित मायालु कम्प्लेक्समा भव्य रूपमा आयोजित यस समारोहमा वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन् भने नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का र रात्रिकालीन व्यवसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठ लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अतिथि कलाकारहरूलाई मौलिक नौमती बाजागाजासहित भव्य स्वागत गरिएको सो कार्यक्रममा संस्थाको वार्षिकोत्सवको केक काटिएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण आँसुले गरेका थिए।
नेपाली लोकगीत-संगीतको जगेर्ना गर्ने र नयाँ प्रतिभालाई उचित मञ्च प्रदान गर्ने उद्देश्यले स्थापित दरबार रोधी क्लबले आफ्नो १८ वर्षे यात्रामा थुप्रै कलाकारहरूलाई व्यावसायिक अवसर दिँदै आएको स्मरण गराउँदै आयोजकले यसपटकको उत्सवले मनोरञ्जनसँगै कलाकारप्रतिको दायित्वलाई सँगै लैजान सकिन्छ भन्ने दरिलो सन्देश दिएको बताएका छन्।







डिसी नेपाल







Facebook Comment