अग्रजदेखि बालसाहित्यसम्मको लागि साझा मञ्च बन्दै ‘रचना वाचन कार्यक्रम’
धनगढी । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले सञ्चालन गर्दै आएको नियमित ‘रचना वाचन कार्यक्रम’को आठौँ शृङ्खला शनिबार सम्पन्न भएको छ।
प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने उक्त कार्यक्रम जेठ ३० गते बिहान ७ बजे समाजको सभाकक्षमा कार्यक्रममा अग्रज स्रष्टाहरूको जीवनीका रोचक पक्ष, स्रष्टाका रचनाभित्रका अनुभूति तथा अग्रजदेखि अनुज स्रष्टाले सिर्जना वाचन गरेका थिए।
सुदूरपश्चिम साहित्य प्रतिष्ठानका सचिव प्रेम विवस चन्दका अनुसार कार्यक्रम पछिल्लो समय अग्रज साहित्यकार, युवा स्रष्टा तथा बालसाहित्यका लागि साझा साहित्यिक मञ्चका रूपमा स्थापित हुँदै गएको छ।
उनले कार्यक्रम आठौँ शृङ्खलामा प्रवेश गर्दै जाँदा विशेषगरी युवा साहित्यकारमाझ निकै लोकप्रिय बन्दै गएको बताए। नियमित रचनात्मक जमघटले नयाँ पुस्तालाई साहित्य सिर्जना र वाचनतर्फ आकर्षित गर्न सहयोग पुगेको उनको भनाइ छ।
साहित्य, कला र संस्कृतिप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी भई आफ्ना सिर्जना प्रस्तुत गर्न समाजले आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment