ठमेलबाट पक्राउ परेका विदेशी नागरिकको पेटबाट डेढ किलो कोकिन बरामद

डिसी नेपाल
१ असार २०८३ १७:२३

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा करिब डेढ किलो अवैध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सेनेगलका एक पुरुष र भारतका दुई महिलालाई पक्राउ गरिएको जानकारी दिएको हो।

ब्यूरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडानमार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका ४३ वर्षीय सेनेगलका नागरिक आमादु सारलाई शङ्कास्पद अवस्थामा निगरानीमा राखिएको थियो। ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा उनको मुखबाट १६ वटा प्लास्टिक कोटेड कोकिनका क्याप्सुल फेला परेका थिए। थप अनुसन्धानका क्रममा उनको पेटभित्र थप क्याप्सुल रहेको खुलेपछि प्रहरीले अस्पताल पुर्‍याई चिकित्सकको सहयोगमा ६० वटा थप क्याप्सुल निकालेको थियो। उनको पेटबाट निकालिएका कुल ७६ वटा क्याप्सुलमा गरी जम्मा १ किलो ५०० ग्राम कोकिन फेला परेको हो।

प्रारम्भिक अनुसन्धानपछि उक्त कोकिन लिन भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौं आएको खुलेको थियो। सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ गते ठमेलकै होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट एक थान राहदानी, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल बरामद गरेको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप कानुनी प्रक्रिया अघि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *