सेउलुङ बस्ती पहिरो जोखिममा
default
म्याग्दी। स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो।
सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए। ‘पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन’, उनले भने।
स्थानीय कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा परेको छ। पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको सेउलुङ टोल, सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा–डाडाँगाउँ–सोले–तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताए। पहिरोका कारण नजिकको जमिन धाँजा फाटेर चिराचिरा परेको छ।
उनका अनुसार टाक्से हुँदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो। फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन।
ठूलो क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुन सकेको छैन। मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताए।
जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उनले बताए। पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment