वरिष्ठ लोक गायक तथा पत्रकार रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक

डिसी नेपाल
३ असार २०८३ ११:५०

काठमाडौं । नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ ।

भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसार भर हेर्न मिल्ने गरि सार्वजनिक गरिएको उक्त भजनले भक्तिभाव, आध्यात्मिक चेतना, भगवान पशुपतिनाथप्रतिको अटुट विश्वास तथा मानव जीवनका संघर्षबीच ईश्वरप्रतिको भरोसालाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ । खनालको उक्त भजनको शीर्षक ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र रु’ले नै परमात्माप्रतिको पूर्ण समर्पण र आस्थाको सन्देश प्रवाह गर्दछ ।

नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि सक्रिय रहेका खनाल नेपाली लोक तथा दोहोरी संगीतका स्थापित र सम्मानित स्रष्टाका रूपमा परिचित छन् । नेपालमा जन्मिएर हुर्किएका उनी हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली भाषा, कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर सक्रिय छन् ।

प्रत्येक वर्ष नेपाल आएर नयाँ गीत संगीत, भजन, तीजगीत तथा सांस्कृतिक सिर्जनामा सहभागी हुने खनालले हालसम्म सयौँ लोकगीत, दोहोरी, भजन, तीजगीत, देउसी भैलो तथा सामाजिक चेतनामूलक गीतमा स्वर दिइसकेका छन् । उनी रेडियो नेपालका बिशिस्ठ श्रेणीका गायक पनि हुन् ।

उनी गायकको साथ साथै गीतकार, संगीतकार पनि हुन् । उनका हाल सम्म ५६ भन्दा बढी बढी एल्बम र १८ वटा गीत संगीत सहित बिबिध विषयका पुस्तकहरु प्रकाशित छन् । उनका दुइहजार हाराहारीमा कविता र गजलहरु पनि प्रकाशित छन् ।

रेडियो नेपाल, नेपाल टेलिभिजन देखि छापा पत्रकारिता हुँदै अनलाइन पत्रकारिता सम्म लामो समय गायक, कलाकार, पत्रकारका रुपमा काम गरेका खनाल अहिले पनि अमेरिकामा रहंदा पनि आफ्ना सबै विधाहरुमा उत्तिकै सक्रिय छन् ।

नयाँ सार्वजनिक भएको भजनमा शब्द, संगीत तथा स्वर स्वयं रामप्रसाद खनालकै रहेको छ । संगीत संयोजन बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ श्याम श्वेत रसाइली र प्रि–मिक्सिङ कमल थापा मगरले गरेका छन् । भक्तिमय भावनालाई संगीतमार्फत प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास भजनमा गरिएको छ ।

अडियो तथा भिडियो निर्माण इन्टरनेशनल मिडिया एन्ड इन्टरटेनमेन्ट हाउस यूएस तथा इन्टरनेशनल आर्टिस्ट्स फोरम यूएसएको ब्यानरमा गरिएको हो । भिडियोको निर्देशन स्वयं रामप्रसाद खनालले गरेका छन् भने छायांकन ताराकान्त बिक र प्रदीप बोहोराले गरेका छन् । सम्पादनको जिम्मेवारी ताराकान्त बिकले सम्हालेका छन् ।

भिडियोमा रामप्रसाद खनाल, तीर्था पौडेल, कमल बिक, प्रतिमा बिक, प्रमेश घिमिरे, रमिला रसाइली, कल्पना बिक, चन्द्र थापा किरण, सङ्गीता हर्मेल, खगेन्द्र बुढा मगर तथा लवकुश महतलगायत कलाकारहरूको अभिनय रहेको छ । पशुपतिनाथप्रतिको आस्था, भक्ति र आध्यात्मिक अनुभूतिलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको यो भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।

संगीतकर्मी मात्र नभई साहित्यकार र पत्रकारका रूपमा समेत परिचित खनालले हालसम्म १८ वटा पुस्तक प्रकाशित गरिसकेका छन् । हजारौँ कविता, लेख तथा सयौँ गीत सिर्जना गरिसकेका उनले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । उनी हाल इन्टरनेशनल आर्टिस्ट्स फोरम अमेरिकाका अध्यक्ष तथा फेडेरेशन अफ इन्टरनेशनल जर्नालिस्ट्स अमेरिकाका अध्यक्षसमेत हुन् ।

भजन सार्वजनिक गर्दै खनालले संसारभर रहेका नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता भक्ति सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले भक्तजन तथा संगीतप्रेमीहरूलाई भजन हेर्न, सुन्न, प्रतिक्रिया दिन तथा सामाजिक सञ्जालमार्फत साझा गर्न आग्रह गरेका छन् ।

उनका अनुसार धार्मिक तथा सांस्कृतिक चेतनालाई सुदृढ बनाउने यस्ता सिर्जनाको प्रचार प्रसारमा सबैको साथ आवश्यक छ । दर्शक तथा श्रोताबाट प्राप्त हुने माया, सुझाव र प्रतिक्रियाले कलाकारलाई थप सिर्जनात्मक ऊर्जा प्रदान गर्ने उनको भनाइ छ ।

आध्यात्मिक चेतना, सांस्कृतिक संरक्षण, धार्मिक आस्था र मानवीय सद्भावलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ भजनले नेपाली समाजमा सकारात्मक सोच, नैतिक मूल्य, करुणा, शान्ति र आध्यात्मिक जागरणको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *