दुर्घटनामुक्त समाजको संकल्पसहित राजविराजमा ‘ट्राफिक सप्ताह २०८३’ सुरु
राजविराज। बढ्दो सडक दुर्घटना न्यूनीकरण र सवारी अनुशासन कायम गर्ने उद्देश्यका साथ सप्तरीको राजविराजमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा ‘ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई बचाऔँ’ भन्ने मूल नाराका साथ बुधबारबाट औपचारिक रूपमा यो अभियानको शुभारम्भ गरिएको हो।
अभियानको पहिलो दिन राजविराजमा एक बृहत् जनचेतनामूलक प्रभातफेरी निकालिएको छ। राजविराज नगरका प्रमुख सडकहरूको परिक्रमा गरेको उक्त प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
र्यालीका सहभागीहरूले सडक सुरक्षा, सवारी अनुशासन र ट्राफिक सचेतना जगाउने खालका विभिन्न प्लेकार्ड र प्लेब्यानरहरू बोकेका थिए।
कार्यक्रमका माध्यमबाट चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मोटरसाइकल चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग गर्न, चारपाङ्ग्रे सवारीमा सिटबेल्ट बाँध्ने बानी बसाल्न, मदिरा सेवन गरी सवारी साधन नलगाउन तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै जनचेतनामूलक सन्देशहरू प्रवाह गरिएको छ। बढ्दो सवारी चापसँगै निम्तिने सडक दुर्घटना रोक्नका लागि प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै यसमा समुदायको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस सप्ताहभर जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू, सडक सुरक्षासम्बन्धी विशेष अभियान, अन्तरक्रिया तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षणहरू सञ्चालन गर्ने जनाएको छ। यस्ता कार्यक्रमहरूले आम नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न र सुरक्षित, अनुशासित एवं दुर्घटनारहित समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment