वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा, सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य

डिसी नेपाल
२८ भदौ २०८३ ८:१४

वीरगञ्ज, पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले सडक सीमाभित्र रहेका बाँकी संरचना हटाएर सोमबारसम्ममा विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।

हेटौँडास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद समाधान गरी सोमबारसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको छ भने बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको छ । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ ।

सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत भइरहेको इन्जिनियर दुर्गाप्रसादले बताए । सडक विस्तारको कामलाई तीव्रता दिन बाँकी संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते वीरगञ्जको मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्र र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।

सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए ।

सडक विस्तारको काम सम्पन्न भएपछि वीरगञ्जको मुख्य सडक फराकिलो हुनुका साथै यातायात व्यवस्थापन र आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *