पत्रकार अमर बानियाँको पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक
काठमाडौं। वरिष्ठ पत्रकार अमर बानियाँको म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधितालगायतलाई समेटेर तयार पारिएको पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक गरिएको छ।
‘धौलागिरि पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौं’द्वारा नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल सरकारका पूर्वमुख्य सचिव तथा पूर्वराजदूत लोकदर्शन रेग्मी, प्रा डा प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्वअध्यक्ष याम श्रेष्ठलगायतले उक्त पुस्तकको लोकार्पण गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष वैद्यले पुस्तकका माध्यमबाट म्यादीलाई विश्वमाझ चिनाउन मद्दत पुग्ने बताए। पूर्वमुख्य सचिव रेग्मीले म्याग्दीलगायत देशभरका पर्यटकीय स्थललाई सूचना र प्रविधिको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउनु आजको मुख्य आवश्यकता भएको बताए। प्रा डा शर्माले म्याग्दीका बासिन्दाले आफ्नै घर आँगनका पर्यटकीय स्थलबारे जानकारी हासिल गर्नु आवश्यक भएको उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत शर्माले पर्यटकीय स्थलको प्रचारप्रसारका लागि राज्यका निकायमाथि निर्भर नरहन आग्रह गर्दै यसका लागि व्यक्ति व्यक्तिले हातेमालो गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो। यसका लागि पर्यटन बोर्ड सबै पक्षसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो। पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ पुस्तक सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गरे। नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न पर्यटन बोर्डलगायत सरकारी निकायको ध्यान खासै जान नसकेको उहाँको भनाइ थियो। राज्यका निकायहरुसँग लगानी भएर पनि त्यसको सही रुपमा सदुपयोग हुन नसकेको पत्रकार भादगाउँलले गुनासो गरे।
सो अवसरमा वरिष्ठ पत्रकार बानियाँले पुस्तक प्रकाशन गरेर आफ्नो जन्मभूमिको ऋण तिर्ने प्रयास गरेको बताए। फोटोग्राफी, पत्रकारिता र सामाजिक काममा आफ्नो जीवनको अधिकांश समय बिताउनुभएका उनले मातृभूमि म्याग्दी चिनाउने क्रममा ‘सुन्दर म्याग्दी’ पुस्तक प्रकाशन गरेको उल्लेख गरे। आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर तस्बिर पुस्तक प्रकाशन गरेका बानियाँ सदरमुकाम बेनी बजारमा बसेर चार दशकदेखि फोटोग्राफीका साथै समाजसेवामा समर्पित छन्।
रङ्गीन कलेवरमा प्रकाशित उक्त पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधितालगायतबारे चित्रण गरिएको छ। म्याग्दीको विषयमा जान्न चाहने अध्येता, पर्यटक र म्याग्देलीलाई उक्त पुस्तक उपयोगी मानिएको छ। धौलागिरि पर्यटन विकास परिषद्ले प्रकाशन गरेको पुस्तकको मूल्य रु एक हजार रहेको छ।







डिसी नेपाल







Facebook Comment