आरजु राणाको जलेको घरको भित्तामा टाँस्यो अख्तियारले हाजिर हुने सूचना
काठमाडौं । राहदानी छपाइ ठेक्कामा भएको भनिएको अनियमितताको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका नाममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। अख्तियारको टोलीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-२ स्थित राणाको निजी निवासको भित्तामा उक्त सूचना टाँसेको हो।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीबाट राणाको उक्त घर पूर्णरूपमा ध्वस्त भएको थियो। आगोले जलेर बाँकी रहेका घरका भित्तामा नै अख्तियारले सूचना टाँस गरेको हो। पूर्वपरराष्ट्रमन्त्री राणा हाल आफ्ना पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेशमा छिन्।
आन्दोलनका क्रममा घाइते भएका देउवा र राणा उपचारका लागि सिंगापुर हुँदै हङकङतर्फ लागेका थिए। त्यसयता उनीहरूको वर्तमान अवस्था र फिर्तीका बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
अख्तियारले राहदानी छपाइ ठेक्का प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धानलाई तीव्र बनाएको छ। सोही अनुसन्धानको सिलसिलामा बयानका लागि पूर्वमन्त्री राणालाई उपस्थित हुन बोलाइएको हो।
अख्तियारद्वारा जारी सूचनामा भनिएको छ, ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईंको घर-दैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १, टंगाल, काठमाडौँमा उपस्थित हुन आउनुहोला।’
सूचनामा तोकिएको अवधिभित्र उपस्थित नभएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ।







डिसी नेपाल







Facebook Comment