क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

डिसी नेपाल
४ असार २०८३ २१:४८

काठमाडौं। रुपन्देहीको बुटवलमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

बुटवल उप-महानगरपालिका वडा नं. १२ स्थित एक स्थानबाट उनीहरूलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेहरूमा ४९ वर्षीय सिओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन्। उनीहरू सबै चिनियाँ राहदानीवाहक नागरिक हुन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले नेपालको कानुनले निषेध गरेका विभिन्न एप्स र वेबसाइटहरू मार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेका थिए। उनीहरूले बाइनान्स, ओकेएस, इनटोकन जस्ता क्रिप्टो एप्सका साथै पेटीएम , भीम, मोबिक्विकर फोनपे जस्ता भुक्तानी माध्यमहरूको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल र २ थान ल्यापटप समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूमाथि अभौतिक मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *