गर्मी बढेसँगै सर्पदंशका बिरामी बढे

डिसी नेपाल
६ असार २०८३ २२:१४

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढेका छन्। गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी अस्पतालमा बढेका हुन्।

अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार साउनयता अहिलेसम्म २७९ जना सर्पले डसेका छन्। सर्पदंशबाट जेठ महिनामा २५ र वैशाखमा १० जना बिरामी परेका छन्।

यसैगरी, साउनमा ६६, भदौमा ७५, असोज ७०, कात्तिकमा २०, फागुन एक र चैतमा १२ जना सर्पदंशबाट बिरामी परेका उनले बताए। अस्पतालका सूचना अधिकारी अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने र मानिसहरूलाई टोक्ने बताए।

नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्पले टोक्ने गरेका छन्। उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखालगायत जिल्लाबाट सर्पदंशका बिरामी आउने गरेको जानकारी दिए।

सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने गर्नुपर्दछ।

जोगिने उपाय सर्पदंशबाट बच्नका लागि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्ने जस्ता उपायबाट अपनाउनुपर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *