योग शारीरिक व्यायाम मात्र नभई मानवलाई दुःख र तनावबाट मुक्त गराउने दिव्य ज्ञान
काठमाडौं। मानसिक तथा शारीरिक स्वस्थताका लागि योगको महत्त्वलाई उजागर गर्दै आज जुन २१ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।
मानव जीवनमा योगको बहुआयामिक आवश्यकता र यसको वैज्ञानिक महत्त्वलाई विश्व समुदायसमक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिनलाई आधिकारिक रूपमा योग दिवसको मान्यता दिएको हो।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गरिएको विशेष प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो।
त्यसपछि सन् २०१५ देखि संसारभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो, जसअन्तर्गत प्रत्येक वर्ष सामूहिक योग अभ्यास, ध्यान, जनचेतनामूलक गोष्ठी तथा विशेष समारोहहरू आयोजना गरिन्छन्।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकले योगाचार्य राजन शर्मासँग गरेको विशेष संवादमा उनले योग कुनै सामान्य शारीरिक व्यायाम मात्र नभई मानव जीवनलाई दुःख, चिन्ता, भय, तनाव र मानसिक अशान्तिबाट मुक्त गराउने दिव्य ज्ञान र साधना पद्धति भएको बताएका छन्।
सृष्टिको प्रारम्भदेखि नै ऋषिमुनि तथा भगवान् शिवको करुणाबाट मानव समाजलाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यस मौलिक ज्ञानको विकास भएको उनको भनाइ छ।
मानिसले आफ्नो जीवनमा योगलाई परिपालन गर्दा वास्तविक स्वरूप पहिचान गर्न, आत्मिक शान्ति प्राप्त गर्न तथा जीवनलाई सन्तुलित बनाउन ठुलो सहयोग पुग्छ। योग केवल शारीरिक अभ्यास मात्र नभई मानिसलाई नैतिकता, संस्कार र प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनयापन गर्न सिकाउने एउटा महाविद्या र पूर्ण जीवनदर्शन हो।
आचार्य शर्माका अनुसार हिमालय हिमवत् खण्डको नेपाल भूमि प्राचीनकालदेखि नै शिव र ऋषि परम्परा, देवस्थल र तपोस्थलका रूपमा परिचित छ, जहाँबाट अनेकौँ धार्मिक, दार्शनिक ग्रन्थ तथा योग दर्शनहरूको प्रादुर्भाव भएको हो।
योगलाई केवल स्वास्थ्य सुधारको संकुचित दायरामा मात्र सीमित राख्न नहुने बताउँदै उनले यो व्यक्तिगत अस्तित्व (मनुष्य) लाई व्यापक सार्वभौमिक चेतना (कलेक्टिभ कन्ससनेस) सँग जोड्ने विज्ञान भएको प्रष्ट पारे।
वेद र आयुर्वेदसँग योगको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले आयुर्वेदका नियम र सिद्धान्तहरूको पालनाविना पूर्ण मुक्ति प्राप्त गर्न कठिन हुने र यौगिक प्रक्रियाविना शरीर, मन र चेतनाको समग्र शुद्धीकरण सम्भव नहुने स्पष्ट पारे। वेद, योग र आयुर्वेदको अन्तिम लक्ष्य मानव चेतनाको उच्चतम अवस्था हासिल गर्नु नै हो।
योग एउटा महासागर जस्तै भएकाले यसलाई विभिन्न व्यक्तिले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्छन्। यो रोगीका लागि उपचार वा चिकित्सा पद्धति हो, गृहस्थका लागि सुखी दिनचर्याको आधार हो भने योगीका लागि पूर्ण मुक्तिको मार्ग अर्थात् ‘मुक्ति विद्या’ हो। योग साधनाको नियमित अभ्यासबाट मानिसमा रहने रिस, लोभ, मोह, चिन्ता, तनाव र नकारात्मक सोचहरू क्रमशः कम हुँदै जान्छन्।
पछिल्लो समय योग र ध्यानलाई फरक-फरक रूपमा बुझ्ने भ्रम समाजमा बढ्दै गएकोप्रति स्पष्ट पार्दै आचार्य शर्माले ध्यान योगकै एउटा महत्त्वपूर्ण र अभिन्न अङ्ग भएको बताए।
कतिपयले आसनलाई मात्र योग बुझ्ने गरेकाले यस्तो भ्रम पैदा भएको हो। अष्टाङ्ग योगका आठ चरणहरू यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि मध्ये ध्यान सातौँ चरणको साधना पद्धति हो। रुख भएपछि त्यसको जरा फेदमै भए जस्तै योग र ध्यान एकअर्कासँग अन्तरसम्बन्धित ‘सिस्टर फिलोसफी’ हुन्।
नेपालमा माघ ११ गते राष्ट्रिय योग दिवस मनाइने विषयमा चर्चा गर्दै उहाँले नेपाली साधकहरूले यस मितिलाई अन्तर्राष्ट्रिय स्तरमै मान्यता दिलाउने प्रयास गरे पनि अन्तर्राष्ट्रिय समुदायले जुन २१ लाई स्वीकार गरेपछि नेपालले आफ्नो ऐतिहासिक र आध्यात्मिक महत्त्वलाई जोगाउन माघ ११ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको जानकारी दिए।
साथै, नेपाल ध्यानको समेत उद्गमस्थल र भगवान् बुद्धको जन्मभूमि भएकाले बुद्ध जयन्तीको अवसरमा राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो, जसले विश्व शान्ति र ध्यान संस्कृतिको प्रवर्द्धनमा मद्दत पुग्नेछ।
आधुनिक जीवनशैलीले मानिसलाई अत्यधिक भागदौड र तनावतर्फ धकेलिरहेको अवस्थामा जिब्रो, मन र व्यवहारमा संयम राख्दै ‘जे प्राप्त छ त्यही पर्याप्त छ’ भन्ने सन्तोषको भाव विकास गर्न सके प्रतिस्पर्धा, ईर्ष्या र असन्तुष्टि स्वतः कम हुँदै जाने उनको विश्वास छ।
योग केवल शरीरको अभ्यास नभई जीवनलाई सही ढङ्गले जिउने विशिष्ट कला भएकाले यसको अभ्यास गर्ने व्यक्ति स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र र विश्वप्रति जिम्मेवार बन्दछ र यसले समग्र मानव सभ्यतालाई सकारात्मक दिशातर्फ अघि बढाउन मद्दत गर्दछ।







डिसी नेपाल







Facebook Comment