अस्ट्रेलियाद्वारा इन्धन अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार
क्यानबेरा। अस्ट्रेलियाली सरकारले इन्धनमा लाग्दै आएको अन्तःशुल्क कटौतीको अवधिलाई थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार एक वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने जानकारी दिनुभएको हो। हाल लागू भइरहेको प्रतिलिटर ३२ सेन्टको छुटलाई उक्त अवधिमा आधा घटाइने छ भने अगस्ट २ पछि साविककै पूर्ण अन्तःशुल्क दर (प्रतिलिटर ५२.६ सेन्ट) पुनः कायम गरिनेछ।
मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी तेल सङ्कट र इन्धनको मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव न्यूनीकरण गर्न अस्ट्रेलियाको सङ्घीय सरकारले गत अप्रिल १ देखि तीन महिनाका लागि प्रतिलिटर २६.३ सेन्ट अन्तःशुल्क कटौती गरेको थियो। उक्त अवधिमा राज्य तथा क्षेत्रीय सरकारहरूले थप ५.७ सेन्ट प्रतिलिटर बराबरको राहत प्रदान गर्ने सहमति जनाएका थिए।
प्रधानमन्त्री अल्बानिजले अर्थमन्त्री जिम चाल्मर्स, ऊर्जामन्त्री क्रिस बोवेन तथा यातायातमन्त्री क्याथरिन किङसँगको संयुक्त वक्तव्यमा इन्धन अन्तःशुल्क कटौती क्रमिक रूपमा फिर्ता गर्दा बढ्दो जीवनयापन खर्चको दबाब सामना गरिरहेका नागरिकलाई राहत पुग्ने उल्लेख गर्नुभएको छ।
संयुक्त वक्तव्यमा भनिएको छ, “आर्थिक तथा इन्धन बजारको स्थायित्व पुनःस्थापित हुन केही समय लाग्ने देखिएकाले अन्तःशुल्क कटौतीको अवधिलाई विस्तार गरिएको हो।”
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आए पनि सर्वसाधारण नागरिक अझै पनि आर्थिक दबाबमै रहेकाले सरकारले यो कदम चालेको वक्तव्यमा स्वीकार गरिएको छ।







डिसी नेपाल







Facebook Comment