सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो हावाचल्ने सम्भावना

डिसी नेपाल
८ असार २०८३ १३:१७

काठमाडाैं। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही भूभागमा अत्याधिक गर्मी बढ्ने र तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ।

विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि आगामी दिनमा तापमान थप वृद्धि हुने अनुमान गरिएको छ।

तराईमा चर्को गर्मी र तातो लहरको संकट देखिँदा देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा भने मौसममा बदली भई मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ।

मौसम पूर्वानुमानअनुसार काठमाडौं उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ।

यस अवधिमा उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको वरपर रहने अनुमान गरिएको छ।

यता पश्चिम तराईका क्षेत्रहरूमा भने तापक्रम निकै उच्च रहने देखिएको छ, जसमा धनगढीको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने आकलन गरिएको छ। यसका साथै वीरगञ्ज, भैरहवा र घोराही लगायतका क्षेत्रमा पनि अत्यधिक गर्मी र चर्को घाम लाग्नेछ।

तराईका विभिन्न क्षेत्रमा तातो लहर (हिटवेभ) को सीधा प्रभाव पर्न सक्ने भएकाले विभागले जनस्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन विशेष आग्रह गरेको छ।

तातो हावा चल्ने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा धेरै समय नलगाउन, बाहिर ननिस्कन र शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी पिउन मौसमविद्हरूले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *