शिन बेटका पूर्व प्रमुख रोनेन बार र उनकी पत्नीलाई युएईबाट निकालियो: इरानी आक्रमणको खतरा रहेको गुप्तचर रिपोर्ट
काठमाडौं । इजरायली टेलिभिजन च्यानल ‘च्यानल १३’ को एक सनसनीपूर्ण प्रतिवेदनअनुसार इजरायलको आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ का पूर्व प्रमुख रोनेन बार र उनकी पत्नीलाई संयुक्त अरब इमिरेट्स भ्रमणका क्रममा त्यहाँबाट द्रुत र सुरक्षित रूपमा बाहिर निकालिएको छ।
रोनेन बार एक अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा भाग लिन युएई पुगेका बेला उनीहरूमाथि इरानको तर्फबाट सम्भावित आक्रमण वा ठूलो क्षति पुर्याउने योजना बनिरहेको विशिष्ट गुप्तचर चेतावनी प्राप्त भएको थियो।
उक्त गम्भीर चेतावनी लगत्तै सुरक्षा निकायहरूले तुरुन्तै कदम चाल्दै पूर्व गुप्तचर प्रमुख र उनकी पत्नीलाई सुरक्षित स्थानमा सारेका हुन्। हालसम्म यस संवेदनशिल घटनालाई लिएर न त युएई प्रशासन न त इरान सरकारले नै कुनै आधिकारिक टिप्पणी वा पुष्टि गरेका छन्।
रोनेन बार इजरायलको सुरक्षा इतिहासमा एक महत्त्वपूर्ण तर विवादास्पद व्यक्तित्व हुन्, जसको कार्यकालमा अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमाथि ठूलो आक्रमण भएको थियो। उक्त भयानक सुरक्षा कमजोरीको जिम्मेवारी बारले सार्वजनिक रूपमा स्वीकार गर्दै इजरायली सुरक्षा संयन्त्र नागरिकको रक्षा गर्न असफल भएको कुरा स्विकारेका थिए।
त्यसै असफलता र दबाबका कारण सन् २०२५ मा उनले शिन बेटको प्रमुख पदबाट राजीनामा दिएका थिए। सेवानिवृत्त भइसकेपछि पनि इरान र उसका सहयोगी संगठनहरूको निसानामा इजरायलका पूर्व सुरक्षा अधिकारीहरू कति उच्च जोखिममा छन् भन्ने कुरालाई यस युएई घटनाले पुनः पुष्टि गरेको छ, जसले पश्चिम एसियामा जारी कूटनीतिक र गुप्तचरी युद्धलाई अझ तताउने संकेत गर्दछ।







डिसी नेपाल







Facebook Comment