पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

डिसी नेपाल
८ असार २०८३ २०:५१

उदयपुर (गाइघाट) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ। गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई-७ डुम्री-थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो।

थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले प्रदेश १-००२ ख ४५३४ नम्बरको बोलेरो जीपलाई आज दिउँसो पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिए।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक पौडेलेको नेतृत्वमा गएको टोलीले जीपलाई सडक निर्माण कम्पनीको स्काभेटर प्रयोग गरेर बाहिर निकालिएको हो। जीपमा सामान्य क्षति भएको छ भने कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी चौकी तनमको टोली घटनास्थल पुगेर निर्माण कम्पनीका जनशक्तिको सहयोगमा जीप र यात्रुको उद्धार गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी गणेश बमले बताए। सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उनले सबैलाई अनुरोध गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *